logo bikalpa
१९ आश्विन २०७९, बुधबार
१९ आश्विन २०७९, बुधबार

बिटक्वाइन वरदान हो कि अभिशाप?

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
११ बैशाख २०७९, आईतवार
Share it

आजभन्दा १२ वर्षअघि बिटक्वाइन प्रयोग गरेर कसैले दुई वटा पिज्जा किनेको थियो। त्यस बेला पिज्जा किन्नेले १० हजार बिटक्वाइनमार्फत भुक्तानी गरेका थिए। त्यति नै बिटक्वाइनको मूल्य यो लेख लेख्दै गर्दा झन्डै ४० करोड डलर पुगेको छ।

हो, अहिले एउटा बिटक्वाइनको मूल्य ३९ हजार २ सय ६८  डलर (झन्डै ४७ लाख नेपाली रूपैयाँ) पर्छ। हाल बिटक्वाइनजस्ता दसौं हजार क्रिप्टोकरेन्सी (कुटमुद्रा) चलनमा छन्। ती सबै बिटक्वाइन जत्तिकै मूल्यवान भने छैनन्।

आखिर के हुन् यी क्रिप्टोकरेन्सी? कसले बनायो यी मुद्रा? कसले प्रयोग गर्छ? किन प्रयोग गर्छ? यसको वैधानिकता के हो? मान्छे किन यसको पक्ष-विपक्षमा लागेका छन्?

यहाँ क्रिप्टोकरेन्सीहरू मध्येको पहिलो र सबभन्दा मूल्यवान बिटक्वाइनको माध्यमबाट यी कुराहरू बुझ्ने प्रयास गरिएको छ।

क्रिप्टोकरेन्सी हाल संसारभर चर्चामा छन्। रसियाले युक्रेनमा आक्रमण गरेपछि धेरैतिरबाट करोडौं डलर बराबरका क्रिप्टोकरेन्सी मानवीय सहायताका लागि युक्रेनी सरकार र गैरसरकारी संस्थाहरूलाई पठाइएको छ। सँगसँगै चलनचल्तीका मुद्रा त्यो पनि नगदमै सहयोग गर्नुहोस् भन्ने अनुरोध पनि सहयोगी संस्थाहरूले गरिरहेका छन्।

उद्योग व्यवसाय, फिल्म, संगीत, कला क्षेत्रका सेलेब्रेटीहरू पनि क्रिप्टोकरेन्सीसँग जोडिएर समयसमयमा चर्चामा आउने गरेका छन्। अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्क भविष्यको मुद्रा भनेकै क्रिप्टोकरेन्सी हो भन्थे। उनको कम्पनीले अर्बौं डलर बराबरको बिटक्वाइन किनेको चर्चा थियो। टेस्लाका गाडी किन्न बिटक्वाइनबाटै भुक्तानी गर्न सकिन्थ्यो।

तर अहिले मस्कले कुरा फेरेका छन्, ‘बिटक्वाइनको मूल्यमा धेरै उतारचढाव आयो, यो भरपर्दो भएन।’

बिटक्वाइन प्रयोग गरेर टेस्ला किन्न पाइँदैन।

प्रसिद्ध लगानीकर्ता र धनाढ्य वारेन बफेट क्रिप्टोकरेन्सीलाई फर्जी मुद्रा भन्छन्। बफेट भुक्तानीको माध्यमको त के कुरा, धन सञ्चय गर्ने सम्पत्ति पनि होइन भन्छन्।

सरकारहरू यसलाई परिभाषित गर्ने र कानुनको दायरामा ल्याउने प्रयासमा छन्। हालसम्म एल साल्भाडोर मात्र यस्तो मुलुक हो जसले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिएको छ। अर्थात सरकारी भुक्तानीका लागि एल साल्भाडोरमा क्रिप्टोकरेन्सी प्रयोग गर्न पाइन्छ।

बिटक्वाइन के हो?

बिटक्वाइन एउटा विद्युतीय मुद्रा हो जुन कुटलेखन (क्रिप्टोग्राफी) मा आधारित हुन्छ। कुनै सूचनालाई आफूले र आफूले चाहेको पक्षबाहेक अरूले नबुझ्ने गरी कुटलेखनमा रूपान्तरण गरी राख्ने, पठाउने र प्राप्त गर्ने काम मान्छेले हजारौं वर्षदेखि गर्दै आएको छ। आधुनिक संसारमा गणित र कम्प्युटर विज्ञानमा यसको प्रयोग व्यापक बन्दै गएको छ।

यही कुटलेखन विधि प्रयोग गरेर सन् २००९ मा सातोसी नाकामोतो नामका व्यक्तिले बिटक्वाइन चलनमा ल्याएका हुन्। यद्यपि नाकामोतो को हुन् अझै खुलेको छैन। नाम सुन्दा जापानी लागे पनि उनी जापानी हुन् वा होइनन्, महिला हुन् वा पुरुष, एउटै व्यक्ति हो कि समूह हो भन्ने बारेमा विभिन्न अनुमान गरिएका छन्।

जोसुकै भए पनि नाकामोतो एक ‘साइबरपंक’ हुन्। साइबरपंक अराजकतामा विश्वास गर्छन्, सरकारलाई विश्वास गर्दैनन्, प्रविधिको व्यापक प्रयोग गरेर समाजलाई लोकतान्त्रिक बनाउन सकिन्छ भन्ने अभियानमा उनीहरू लागेका हुन्छन्।

चिनियाँ मूलका अमेरिकी कम्प्युटर इञ्जिनियर वे डायले सन १९९८ मा प्रकाशित गरेको शोधपत्रमा बिटक्वाइन जस्ता मुद्राको अवधारणा छ। शोधपत्रमा डायले चल्तीको नोट वा सिक्का प्रयोग नगरी कसरी एउटा व्यक्तिले अर्कोलाई सोझै भुक्तानी गर्न सक्छ भन्ने चर्चा गरेका थिए। बिटक्वाइनपछि इथेरियम, लाइटकोइन, टिथर, सोलोना, टेरालगायत थुप्रै क्रिप्टोकरेन्सी चलनमा आएका छन्। हाल यस्ता ९ हजारभन्दा बढी क्रिप्टो चलनमा छन्।

बिटक्वाइनको प्रयोग 

अधिकांश बिटक्वाइनको प्रयोग सम्पत्तिका रूपमा गरिन्छ। सेयर वा कमोडिटी मार्केटमा जस्तै बिटक्वाइनको कारोबार एक्सचेन्जहरूमा हुन्छ। भुक्तानीको माध्यमका रूपमा यसको प्रयोग कम हुन्छ। केही कम्पनीहरू छन् जसले आफूले बिक्री गर्ने वस्तु तथा सेवाका लागि बिटक्वाइन मार्फत भुक्तानीलाई स्वीकार गर्छन्।

यसका पक्षधर बिटक्वाइनलाई सम्पत्तिका रूपमा नलिन आग्रह गर्छन्। विरोधीहरू भने यो भुक्तानीको साधन हुनै नसक्ने बताउँछन्। भुक्तानीका साधनको मूल्यमा जुन स्थिरता हुनुपर्ने हो त्यो बिटक्वाइनमा छैन, त्यसैले मुद्राका रूपमा यसले काम गर्नै सक्दैन भन्ने तर्क उनीहरूको छ।

बिटक्वाइनका पक्षधर क्रिप्टोकरेन्सी विकसित हुँदै गरेको प्रविधि हो, यसको मूल्यमा स्थायित्व (परिपक्वता) आउन बाँकी छ। यसलाई सम्पत्ति मानेर ठूलो लगानी गर्दा हानी हुन सक्ने चेतावनी दिन्छन्।

सरकारहरूको ठूलो चिन्ता बिटक्वाइनको प्रयोग आतंककारी, लागुऔषध व्यापारी, कालो धनलाई सेतो बनाउने लगायतका आपराधिक काममा भयो भन्ने छ। बिटक्वाइनका पक्षधर यो आरोपको पनि खण्डन गर्छन्। उनीहरू प्रश्न गर्छन्, यस्ता आपराधिक काममा परम्परागत मुद्राको प्रयोग भएको छैन र?

बिटक्वाइनलाई कसले नियन्त्रण गर्छ

कसैले पनि गर्दैन। परम्परागत मुद्रा निष्कासन केन्द्रीय बैंकको नियन्त्रणमा हुन्छ। व्यवहारमा जे भए पनि सैद्धान्तिक रूपमा हाल सरकारहरूले चाहेको परिमाणमा मुद्रा निष्कासन गर्न सक्छन्।

बिटक्वाइनको उत्पादनमा भने कुनै एक निकायको नियन्त्रण हुँदैन। विकेन्द्रित प्रणाली (छरिएर रहेको सूचना प्रविधि सञ्जाल, ब्लकचेन) मार्फत बिटक्वाइनको उत्पादन, वितरण, प्रसारण र प्रयोग हुन्छ। डिजिटल वालेटमा बिटक्वाइन राखिन्छ भने यसको लेनदेन ब्लकचेन मार्फत हुन्छ।

जब कसैले बिटक्वाइन खरिद गर्छ वा बिटक्वाइनमार्फत कारोबार गर्छ भने त्यस्तो कारोबारको अभिलेख सबै ब्लकचेनमा बस्छ। यस्तो कारोबारको पुष्टि माइनरहरूले गर्नुपर्छ।

नाकामोतोले बढीमा २ करोड १० लाख बिटक्वाइन उत्पादन गर्न सकिने गरी प्रणाली विकास गरेका छन्। हाल एक करोड ८९ लाख बिटक्वाइन चलनमा आइसकेका छन्। धेरै बिटक्वाइन सन् २०१२ को आधाआधीमा निष्कासन भइसकेका थिए। अन्तिम बिटक्वाइन सन २१४० मा निष्कासन हुने अनुमान छ।

नाकामोतोले बिटक्वाइनको स्वीकार्यताले गति लिन थालेपछि सन २०११ को अप्रिलमा आफू यो परियोजनाबाट बाहिरिएको र अरू काममा लागेको घोषणा गरेका थिए। बिटक्वाइन ओपन सोर्स सफ्टवेयरमा आधारित भएकाले यसमा कसैले पनि प्रतिलिपि अधिकार दाबी गरेका छैनन्।

सातोसी बिटक्वाइनको सबभन्दा सानो एकाइ हो। अर्थात् बिटक्वाइन र सातोसीको सम्बन्ध रूपैयाँ र पैसाको जस्तो हुन्छ। दस लाख सातोसी बराबर एक बिटक्वाइन हुन्छ। बिटक्वाइनको बजार मूल्य बढ्दै जाँदा ससाना कारोबारका लागि प्रयोगकर्ताले सातोसीको प्रयोग गर्छन्।

कसरी काम गर्छ बिटक्वाइनले?

सर्वसाधारणका लागि यो एक किसिमको मोबाइल एप हो। आफ्नो मोबाइलमा भएको एपमा बिटक्वाइन प्राप्त गर्न र पठाउन सकिन्छ। बिटक्वाइन र बिटक्वाइनजस्तै अरू क्रिप्टोकरेन्सीमा आबद्ध जोसुकैले जहाँसुकैबाट कुनै वस्तु तथा सेवाका लागि सोझै भुक्तानी पठाउन र प्राप्त गर्न सक्छन्। जसरी हामी इमेल पठाउन र प्राप्त गर्न सक्छौं।

इमेल सेवा प्रदायकको सेवा केन्द्रिकृत हुन्छ तर क्रिप्टोकरेन्सीको हुँदैन। यसमा थुप्रै विकेन्द्रित खाताहरू (ब्लकचेन) हुन्छन् र प्रत्येक कारोबारको रेकर्ड सबै खाताहरूमा बस्छ। ब्लकचेनहरूले लेनदेन आधिकारिक व्यक्तिबाट भएको हो भन्ने पुष्टि गर्छन् र यसबापत निश्चित शुल्क प्राप्त गर्छन्।

बिटक्वाइन कसरी प्राप्त गर्न सकिन्छ?

माथि नै भनिसकियो एल साल्भाडोर बाहेक सबै मुलुकमा बिटक्वाइन वैधानिक मुद्रा होइन। नेपालमा कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न वा कुनै पनि भुक्तानीका लागि प्रयोग गर्नु अपराध हुन्छ। तर धेरै मुलुकमा यसलाई विद्युतीय सम्पत्ति मानेर यसबाट प्राप्त हुने लाभमा कर लगाइन्छ।

धेरै मुलुकका नियमक (केन्द्रीय बैंक तथा धितोपत्र बजार नियमक) ले यसलाई अति जोखिमयुक्त सम्पत्ति घोषणा गरेका छन्। उनीहरूले यसमा लगानी वा यसमार्फत कारोबार गर्दा आफ्नै जिम्मामा गर्नुपर्ने, कुनै नोक्सानी भए सरकार जिम्मेवार नहुने बताएका छन्। हालैको बजेट वक्तव्यमार्फत भारतीय अर्थमन्त्री निर्मला सीथारमणले क्रिप्टोकरेन्सीको कारोबार नियमन दायरामा ल्याइने बताएकी छन्।

वैधानिक मुद्रा नमानिने तर विद्युतीय सम्पत्तिको वर्गमा राखेर कर उठाउने घोषणा गरिएका मुलुकमा प्रयोगकर्ताले चार किसिमबाट बिटक्वाइन प्राप्त गर्न सक्छन्। एक्सचेन्जहरूमार्फत बिटक्वाइन खरिद गर्ने, बिटक्वाइन प्राप्त गर्ने गरी आफ्ना वस्तु तथा सेवा बिक्री गर्ने, आफैं बिटक्वाइन बनाउने (माइनिङ गर्ने) र चिनेजानेको कसैलाई उसको खाता (डिजिटल वालेट) मा भएको बिटक्वाइन आफ्नोमा सारिदिन भन्ने (खरिद गर्ने)।

बिटक्वाइन माइनिङ भनेको के हो?

प्रहरीले चार वर्षअघि एक जना नेपालीलाई बिटक्वाइन कारोबार गरेको आरोपमा दोलखाबाट पक्राउ गर्‍यो। समाचारहरूका अनुसार अमेरिकाबाट इलेक्ट्रिकल इञ्जिनियरिङ गरेर आएका उनी दोलखाको किर्नेटार गाउँमा बिटक्वाइन माइनिङ गरिरहेका थिए।

नयाँ बिटक्वाइन बनाउनुलाई माइनिङ भनिन्छ। विशेष सफ्टवेयर र हार्डवयरयुक्त कम्प्युटर प्रयोग गरेर माइनिङ गर्न सकिन्छ। यसमा सहभागी हुने व्यक्ति (कम्प्युटर) ले आफू आबद्ध भएको सञ्जालमार्फत कुटभाषामा आउने गणितीय पहेलीहरू समाधान गर्छन्।

यी पहेलीहरू समाधानको उद्देश्य सञ्जालमार्फत हुने भुक्तानीलाई आधिकारिक हो भनेर प्रमाणित गर्ने र विभिन्न किसिमका साइबर आक्रमणबाट सुरक्षित बनाउने हो। यिनै पहेली समाधान गरेबापत पुरस्कार स्वरूप माइनिङ गर्नेले बिटक्वाइन पाउँछन्।

सुन्दा पहेलीहरूको समाधान मान्छेले गर्ने हो जस्तो सुनिए पनि मान्छेले नभई कम्प्युटरले गर्ने हो। यसका लागि कम्प्युटर २४ घन्टा निरन्तर खटिइरहेको हुन्छ। अहिले धेरै देशमा थुप्रै कम्प्युटर प्रयोग गरेर कारखाना जसरी माइनिङ गर्ने ‘फार्म’हरू चलाइएका छन्। कतिपयले त ठुल्ठूला औद्योगिक क्षेत्रकै रूप लिएका छन्।

बिटक्वाइनको बजार मूल्य बढ्दा सञ्जालमा आउने पहेलीहरू समाधान गर्न कठिन हुँदै जाने र मूल्य घट्दा सजिलो हुँदै जाने गरी डिजाइन गरिएको हुन्छ।

यसैगरी बिटक्वाइन निष्कासनको परिमाण बढ्दै जाँदा माइनरले प्राप्त गर्ने पुरस्कारको अनुपात पनि घट्दै जान्छ। सुरूमा एउटा ब्लकले पाउने पुरस्कार ५० वटा बिटक्वाइन हुन्थ्यो भने अहिले त्यो अनुपात ६.२५ मा झरेको छ। अर्थात् प्रत्येक चार वर्षमा पहेली समाधान गर्ने (कारोबार प्रमाणीकरण गर्ने) ब्लकले प्राप्त गर्ने पुरस्कार आधा हुँदै जान्छ।

यद्यपि अन्तिम बिटक्वाइन निष्कासन भइसकेपछि पनि माइनिङ गर्नेहरूले कारोबारको पुष्टि वा प्रमाणीकरण गरेबापत शुल्क भने पाइरहन्छन्।

बिटक्वाइनको मूल्य

पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव आएको छ। नोभेम्बर २०२१ मा यसको मूल्य शिखरमा (६७ हजार ५ सय ८२ डलर) पुगेको थियो।

दुई महिनाअघि बिटक्वाइनको मूल्य ३५ हजार ७० डलरमा ओर्लियो। आठ दिनअघि ४४ हजार ४ सय ४ डलर पुगेर फेरि ओरालो लागेको छ।

सन् २०१५ अघि बिटक्वाइनको मूल्यमा खासै उतारचढाव थिएन। मूल्य सुस्त गतिमा निरन्तर बढिरहेको थियो। धेरैले ध्यान दिएका थिएनन्। यसलाई सामान्य सूचना प्रविधिको प्रयोग मात्र ठानिएको थियो।

वित्तीय क्षेत्र र सूचना प्रविधिमा दख्खल राख्नेहरूको मात्र यसले ध्यान खिचेको थियो। बिटक्वाइनको नक्कल गरेर क्रिप्टोकरेन्सी चलनमा ल्याउने थुप्रै निस्किए। सूचना प्रविधि क्षेत्रको ठूलो कम्पनी फेसबुक (हाल मेटा) र अमेरिकी बैंक जेपी मोर्गनले पनि ब्लकचेन प्रविधि प्रयोग गरेर क्रिप्टोकरेन्सी ल्याउने घोषणा गरेका थिए।

सन् २०१५ पछि बिटक्वाइनको मूल्यमा निरन्तर बढोत्तरी हुँदै २०२१ मा ४० हजार डलर नाघेपछि यसले धेरैलाई अचम्मित बनायो। धेरैले बिटक्वाइनलाई स्वीकार्न थाले। यसलाई प्रयोगमा ल्याउनेको संख्या बढ्दै जाने र मूल्य छिटोछिटो तलमाथि गर्न थालेपछि भने धेरैलाई स्तब्ध बनायो।

यसको मूल्य निर्धारणमा लागू हुने भनेको बजारको माग र आपूर्तिको नियम नै हो। बिटक्वाइनको माग बढ्यो भने मूल्य बढ्छ, घट्यो भने घट्छ। तर यसको माग र आपूर्तिलाई केले असर गर्छ भन्ने विषय जटिल छ। परम्परागत मुद्रालाई जस्तो बैंकमा निक्षेप राखेर यसबाट ब्याज पाइँदैन। सेयरमा जस्तो नगद लाभांश वा बोनस सेयर पनि यसले दिँदैन।

जसरी सुन मूल्यवान् ठानेर मान्छेले किन्छन्, बिटक्वाइनलाई पनि मूल्यवान् ठानिएकैले यसको भाउ बढेको हो। यो मूल्यवान् हो वा होइन भनेर जाँच गर्ने कुनै वैज्ञानिक विधि छैन।

विद्युत खपत

माइनिङमा प्रयोग हुने सफ्टवेयर र हार्डवयर शक्तिशाली तथा बढी विद्युत खपत गर्ने खालका हुन्छन्। माइनरहरूले कारोबार प्रमाणीकरण गरे बापत जति शुल्क पाउँछन् त्यसको ६० देखि ८० प्रतिशत बिजुलीमै खर्च गर्छन्। त्यसैले उनीहरू निरन्तर सस्तोमा बिजुली पाइने ठाउँको खोजीमा हुन्छन्।

दुई वर्षअघिको एक तथ्यांक अनुसार बिटक्वाइन माइनिङ फार्महरूले मात्रै विश्वभर प्रयोग हुने बिजुलीको ०.२० प्रतिशत खपत गर्छन्। बिटक्वाइनको एउटा कारोबार प्रमाणीकरणमा खपत हुने बिजुली भनेको १ लाख ५२ हजार युट्युब भिडिओ हेरे बराबर हो। त्यसैले आलोचकहरूले क्रिप्टोकरेन्सी वातावरणमैत्री नभएको आरोप लगाउँदै आएका छन्।

यसका पक्षधर भने यो कुरालाई ठाडै नकार्छन्।

उनीहरू भन्छन्, 'परम्परागत भुक्तानी प्रणाली जसमा केन्द्रीय बैंक, अरू बैंक तथा वित्तीय संस्था, क्लियरिङ कम्पनी संलग्न हुन्छन् तिनीहरूले गर्ने ऊर्जा खपतको तुलनामा क्रिप्टो कारोबारमा हुने खपत नगण्य हो।'

बिटक्वाइन प्रयोग सुरक्षित छ?

बिटक्वाइनको मूल्य प्रयोग बढ्दै जाँदा ह्याकरहरूको सक्रियता बढ्दै जानु स्वाभाविक हो। सन् २०२१ मा क्रिप्टोकरेन्सीसँग जोडिएका अपराध ह्वात्तै बढेको थियो। ब्लकचेनहरूको विश्लेषण गर्ने संस्था चेनालिसीसका अनुसार उक्त वर्ष अवैध ठेगानामा क्रिप्टोकरेन्सीमार्फत १४ अर्ब डलर पुगेको थियो जुन अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशतले बढी हो।

क्रिप्टोको संसारमा प्रयोगकर्ताको वालेट सुरक्षित राख्नु अर्को महत्वपूर्ण चुनौती हो।

वालेट दुई थरी हुन्छन्- हार्डवयर र अनलाइन।

अनलाइन वालेटको पासवर्ड सुरक्षित राख्न नसकेको अवस्थामा सम्पत्ति चोरी हुने जोखिम हुन्छ। अर्कोतिर हार्डवयर टुटेफुटेमा बिटक्वाइनजस्ता सम्पत्ति पनि नष्ट हुन्छन्।

प्रयोगकर्ताले पासवर्ड बिर्सियो भने वा मृत्यु भयो भने उसले कसैलाई पासवर्ड बताएको छैन भने त्यो अवस्थामा उसको बिटक्वाइन अनन्तमा हराएर जान सक्छ। यसरी लाखौं बिटक्वाइन चलनबाट हराएका छन्।

युट्युब, फेसबुक, ट्विटर वा अन्य सामाजिक सञ्जालमार्फत क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साउने अपराधीहरू पनि छ्यापछ्याप्ती भेटिन्छन्। उनीहरूले रातारात करोडपति बन्न सकिने उपाय आफूसँग भएको दाबी गर्छन्। नजानेका र नबुझेका धेरै मान्छे त्यस्ता अपराधीको फन्दामा परेका छन्। हाम्रोमा त झन् यो अवैध हो भन्ने कतिपयलाई थाहै छैन।

बिटक्वाइनमार्फत एक पटक लेनदेन भइसकेपछि त्यसलाई सच्च्याउन मिल्दैन। गलत ठेगानामा भुक्तानी पठाइयो वा बढी भुक्तानी पठाइयो भने फिर्ता हुँदैन।

सरकारहरु किन हिच्किचाइरहेका छन्?

अन्तर्राष्ट्रिय मुद्रा कोष, केन्द्रीय बैंकहरू, धितोपत्र बजार नियामकहरू, नाम चलेका मौद्रिक अर्थशास्त्रीहरू बिटक्वाइनलाई रूचाउँदैनन्। धनी मुलुकहरूमा क्रिप्टो कारोबार गर्नेलाई अपराधी मानेर पक्राउ गर्ने, जेल हाल्ने गरिँदैन तर वैधानिक मुद्रा (लिगल टेन्डर) पनि मानिँदैन। यसको कारोबारलाई नियमन गर्ने कुनै कानुन पनि बनाइएको छैन।

प्रतिबन्ध लगाइएका मुलुकमा अरू नै कानुन प्रयोग गरेर बिटक्वाइन कारोबारीलाई पक्राउ गर्ने र सजाय दिने गरिएको छ। केन्द्रीय बैंकहरू बिटक्वाइनको व्यापकतालाई चलनचल्तीमा रहेको मुद्रा (डलर, युरो, पाउन्ड, येन, रूपैयाँ) का लागि खतरा ठान्छन्। त्यसैले बिटक्वाइनमा वैधानिक मुद्रामा हुनुपर्ने गुणहरू (मूल्य बताउने एकाई, धन सञ्चयको माध्यम, विनिमयको साधन) नभएको बताउँछन्।

त्यसैगरी यसका पक्षधरले यस किसिमको मुद्रामा विश्वास गर्ने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने र भुक्तानी गर्न सजिलो हुने दाबी गरे पनि संस्थापन पक्षले पत्याएको छैन।

उनीहरूले बिटक्वाइनमा ह्याकिङको जोखिम उच्च भएको, सूचना सञ्जालमै मुद्रा हराउन सक्ने, सर्वसाधारण ठगीमा पर्न सक्ने कारण तेर्स्याउँदै आएका छन्। बिटक्वाइन आम प्रचलनमा आए त्यसबाट मौद्रिक नीति र अर्थतन्त्र व्यवस्थापन अझै जटिल हुने, कारोबारहरू अनुमानयोग्य हुन नसक्ने तर्क पनि केन्द्रीय बैंकहरूको छ। आफैंले विद्युतीय (डिजिटल) सम्पत्ति मान्यता दिएको बिटक्वाइनको मूल्य तीव्र गतिमा झर्‍यो भने त्यसले ठूलै वित्तीय संकट ल्याउने त्रास पनि सरकारहरूलाई छ।

युवा पुस्तामा यसको लोकप्रियताले सरकारहरूलाई थप चिन्तित बनाएको छ। पछिल्लो वर्षमा उच्च मूल्य वृद्धिले युवा आकर्षित भएको र उनीहरूको हालत चम्किलो बत्ती वरपर घुम्ने पुत्लाको जस्तो होला भन्ने सरकारहरूलाई लागेको छ।

नेपालमा यसका आफ्नै खालका समस्या छन्। देशभित्र त प्रतिबन्ध लगाउन सकियो, बाहिर के गर्ने? रेमिटेन्सले भरथेग गरेको अर्थतन्त्र भएकाले विदेशमा भएका नेपाली बिटक्वाइनतर्फ लागे भने मुलुकमा पैसा कम आउन सक्छ। यस्तो भइरहेको पनि हुन सक्ने अनुमान गरिएको छ।

बिटक्वाइनसँग जोडिएको राजनीति 

कागजी मुद्राको प्रयोग सुरूमा सुन धितो राखेर बैंकहरूले जारी गरेको सुरक्षणपत्रबाट भएको हो। अर्थात् बैंकहरूले कुनै व्यक्ति आफूकहाँ आएर सुन धितो राख्यो र त्यसबापत कागज बनाइदिन भन्यो भने उसलाई ‘फलानाले हामीकहाँ सुन धितो राखेको छ यही कागजलाई प्रमाण मानेर कारोबार गर्नु’ भन्ने बेहोराको पत्र लेखिदिन्थे।

कालान्तरमा बैंक र ग्राहक मिलेर बदमासी गर्न थाले। थोरै सुन धितो राखेर धेरैको कागज बनाउने, सुनै नराखी कागज बनाउने विकृति मौलाउँदै गयो। पछि केन्द्रीय बैंकहरू आए अनि यही कामलाई केन्द्रिकृत गरे र अलि फरक ढंगले नोट निकाल्न थाले।

सरकारले सुन जमानीमा नोटहरू निष्कासन गर्ने प्रणाली पनि धेरै वर्ष टिकेन। अब सरकारको भरोसामा नोट निष्कासन हुन थाल्यो। मनलाग्दी नोट छापेर अनुत्पादक क्षेत्रमा खर्च गर्ने सरकारहरू देखा परे। महँगी अचाक्ली बढ्यो, सर्वसाधारणको दैनिकी कष्टकर भयो।

सुन छाडेर सरकारमा गरिएको विश्वास पनि टुट्यो। यसैकारण मुद्रा निष्कासन गर्ने सरकारको एकाधिकार तोड्नु पर्छ भन्ने अर्थ राजनीतिक तर्कले बल पाउँदै गयो। यसैलाई प्रविधिले सहयोग गर्‍यो। त्यसैले क्रिप्टोकरेन्सीका पक्षधर बिटक्वाइनलाई ‘डिजिटल गोल्ड’ भन्छन्।

कुन परिमाणमा बिटक्वाइन चलनमा आउन सक्छ भन्ने पहिल्यै निर्धारण भएको हुँदा यसले महँगी बढाउँदैन भन्ने दाबी उनीहरू गर्छन्। महँगी सरकार सिर्जित समस्या (अधिक मुद्रा आपूर्ति) भएकाले पनि विकेन्द्रित मुद्राको आवश्यकता उनीहरू देख्छन्। यस अर्थमा क्रिप्टोकरेन्सी विशुद्ध आर्थिक वा प्राविधिक विषय मात्र नभएर राजनीतिक मुद्दा पनि हो।

  • Source: Setopati

ट्विटरः @muraharip

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram