logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

वैवाहिक जीवनको शुभकामना साथी!

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२२ बैशाख २०७९, बिहीबार
Share it

सोफिया गैरे,

भर्खर प्लस टु सकेर ब्याचलर पढ्न गाउँबाट झरेकी उनी पातली, अग्ली, लामो कपाल भएकी। उनी सर्ट-पाइन्टमा झोला बोकेर क्याम्पस गेटबाट टक्क भित्र छिर्दै गरेको अवस्थामा मसँग भेटिएकी थिइन्।

उनलाई देखेपछि मैले मन्द मुस्कान दिएँ। त्यसैगरी उनी पनि मलाई हेरेर मन्द मुस्कान दिँदै आफ्नो कक्षा तिर लागिन्।

दिनहरू बित्दै थिए। एकदिन उनीसँग क्याम्पसको चौरमा बसेर घाम ताप्दा परिचय गर्ने अवसर मिल्यो। उनको नाम रहेछ लक्ष्मी पौडेल।

invotech

मैले हत्तपत्त सोधेँ, 'तिम्रो घरमा कता नि?'

उनले हाँस्दै 'पाङ' भनिन्। त्यसैगरी उनले मेरो नाम, ठेगाना, परिवार सबै सोधिन्। मैले पनि उनलाई यी सबै कुराको उत्तर दिएँ।

आजबाट हामी साथी भएका थियौँ। हामीले एकअर्काको मोबाइल नम्बर पनि साटासाट गर्यौं, फेसबुकमा फ्रेन्ड पनि भयौँ। फेसबुकमा म्यासेजहरू साटासाट हुन थालिसकेको थियो। अनि फोनमा कुरा पनि निरन्तर भैरहने माहोल सिर्जना भइसकेको थियो।

nic

हामी एउटै संकायका विद्यार्थी थिए भए पनि हाम्रो विषय फरक-फरक थियो। त्यसैले अनिवार्य विषयमा मात्र हामी एउटै हलमा हुन्थ्यौँ। त्यसपछि मेजर विषय पढ्नका लागि छुट्टाछुट्टै हलमा जानु पर्दथ्यो।

अनिवार्य विषय पढ्दा लगभग हामी एउटै बेन्चमा बसेर धेरै हल्ला गर्थ्यौं। उनी कहिलेकाहीँ भन्ने गर्थिन्, 'हल्ला मात्र गर्ने होइन, पढ्नु पनि पर्दछ।'

म हाँस्दै 'छोडिदेऊ, त्यो परीक्षाको रुटिन निकालेपछि के गर्ने हो र? विस्तारै पढौँला' भन्दै उल्टै तिनलाई जिस्काइदिन्थेँ।

उनी मज्जाले हाँस्दै मलाई 'कति हावा हो के, कहिलेकाहीँ त सिरियस होऊ न' भन्दै गाली पनि गर्दथिन्। साँच्ची उनले भनेको कुराले मलाई कहिलेकाहीँ सिरियस पनि बन्न पर्दछ है भन्ने लाग्दथ्यो।

हामी यति नजिक भइसकेका थियौँ कि खाजा खान सँगै, घुम्न सँगै, पढ्न सँगै। प्रायःजसो कोठामा पनि सँगैसँगै बित्न थालेका थिए दिनहरू। खाजा खान गइने गोविन्दाज रेष्टुरेन्टमा पनि कहिलेकाहीँ एक्लै जाँदा 'आज किन एक्लै नि?' भन्दै जिस्काउन थालिसकेका थिए।

कतै कुनै ठाउँमा एक्लै हुँदा उसलाई खुब मिस गर्दथेँ म। उनको घर जानका लागि धेरै समय लाग्ने थिएन, लगभग बसमा एक घण्टा लाग्दथ्यो। उनी बिदाको समय, चाडपर्वमा, परीक्षा सकिएको अन्तिम दिन तुरुन्त घरमा गइहाल्थिन्।

मलाई उनी घर गइन् कि बजारमै छिन्, यो कुरामा चासो लिन्थेँ। उनी फोन गर्दथिन् र भन्थिन् 'म चाँडै आउँछु।'

म उनलाई खुब घुर्काउँथेँ 'छिटो आऊ नभए म बोल्दिनँ।' त्यो कुरा उनलाई खुब मन पर्दथ्यो।

ब्याचलरको सुरुआतदेखि हाम्रो यात्रा अन्तिम वर्षसम्म यसरी बितेको थियो कि कुनै दिनमा केही कुराको चिन्ता नै थिएन। जब चौथो वर्षको परीक्षा सुरु हुन थाल्यो अनि सोचेँ, अब उनीबाट नचाहेरै पनि टाढा हुने दिन नजिकिँदै छ।

परीक्षाका दिनहरू नजिकिँदै थिए। त्यसको केही समयमा परीक्षा चलिरहेको थियो। परीक्षा हलबाट बाहिर निस्किनासाथ आँखाले हजारौँ परीक्षार्थीको भिडमा उनलाई नै खोजिरहेको हुन्थ्यो। जब उनलाई भेट्थेँ, 'कस्तो गरिस्?' परीक्षा भन्दै सिरियस भएर सोध्थिन् अनि म हाँस्दै 'राम्रो भयो' उत्तर दिन्थेँ।

किन-किन परीक्षा जति नै नराम्रो भए पनि उनलाई भेटेपछि नराम्रो भन्न मनले मान्ने नै थिएन। उनले मुख अमिलो पार्दै 'आज त हेर न एउटा लङ कोइस्चननै उल्टो लेखेर आएछु' भनिन्। म भने 'टेन्सन नगर पास भइहाल्छौ नि' भन्दै सम्झाई रहेँ।

यसरी ब्याचलरको अन्तिम परीक्षा पनि सकियो। हामी भेटेर अनेक गफगाफ गर्यौं। उनी भोलि घर जाने बताइन् र गइन् पनि।

घरमा गए पनि हामी निरन्तर फोन, फेसबुक या जहाँ जुन ठाउँमा जसरी सम्भव हुन्छ त्यसरी नै कुराकानी गर्ने गर्दथ्यौं। परीक्षा सकिएको केही दिनपछि हाम्रो प्राक्टिकलको रूटिन पनि आयो।

उनी घर भए पनि प्राक्टिकलको लागि आउनुपर्ने थियो। सौभाग्यवश हामी एउटै विद्यालयमा परेका थियौँ, निकै रमाइलो। त्यो झन् कहिले भुल्न नसकिने गरी अब त अन्तिम वर्षहरू भन्दै गरेको रमाइलो पल म कसरी बिर्सु?

विडम्बना यस्तो थियो कि उनको एक बजेपछि विद्यालय पुग्नुपर्ने भने मेरो एक बजे निस्कनु पर्ने। हप्तामा एक दिन भेट हुन्थ्यो शुक्रबार, बाँकी दिन कसरी बिते? कसले के कुरा गर्‍यो? यी सबै कुरा हाम्रो फोनबाट नै हुन्थ्यो।

प्राक्टिकलको अन्तिम दिन हामी सबै साथीहरू गुरुजनहरूबाट आशीर्वाद लिएर फोटोशूट गरी घर फर्कियौँ। घर फर्किंदा निकै ठूलो पानी परेको थियो। त्यो दिन अझै पनि याद छ मलाई।

जब विद्यालयबाट घर फर्किंदै थिएँ, धेरै कुरा सोचेँ। बाहिर जस्तो परिस्थिति थियो, ठ्याक्कै भित्र त्योभन्दा बढी तहल्का मच्चिरहेको थियो। अब उनीसँग बिताउने दिन सकिएको थियो।

घरमा आएर पनि धेरै बेर धेरै कुराहरू सोचेँ। पिडा भुलाउने एकमात्र औषधि थियो मोबाइल। मोबाइल खोलेँ, तिम्रा ती म्यासेजहरू अनि तिम्रो त्यो स्टोरी हेरेँ। निकै बेर आफूले आफैलाई नै सम्हाल्ने प्रयास गरेँ, निकै गाह्रो त्यो अतीत भुल्न।

अन्तिम दिन हामी पुनः क्याम्पसमा रिपोर्ट बुझाउन सँगै गयौँ र बुझाएर निस्कँदा उनले भनिन्, 'अब त यहाँ आउने पनि यति नै।' म आफूले आफूलाई नै सम्हाल्दै 'हो त है, सँगै डिग्री यही पढौँला' भन्दै जबर्जस्ती हाँसे। उनी पनि हाँसिन्।

क्याम्पसबाट निस्कदा उनीसँग एकपल पनि छुट्टिन मन थिएन। 'जाउँ न सँगै बसेर चिसो खाउँ न त' भन्दै हामी क्याफे तिर लाग्यौँ।

केही बेर सँगै कुरा गरेपछि उनी हतारिँदै भनिन्, 'आज म घर जाने, सामानहरू मिलाउनु छ। म जान्छु है!'

मैले जबर्जस्ती हस् भनेँ। उनी 'बाई-बाई, सी यू अगेन' भन्दै थिइन्, म मन्द मुस्कानका साथ 'नाइस टू मिट यू' भनेँ।

उनी मेरो आँखाबाट ओझेल भइन्। मलाई भने एकाएक घाम भएको ठाउँमा कालो बादल मडारिँदा मौसम परिवर्तन हुन्छ, मेरो अनुहार ठ्याक्कै त्यस्तै भएजस्तो महसुस भयो।

उनीसँग छुट्टिएको केही हप्तापछि चैते दसैँ अनि नयाँ वर्ष सँगै आइरहेको थियो। 'आऊ न बागलुङ' भन्दै धेरै कर गरेँ उनलाई। गाउँमा धेरै काम हुने भएकाले फुर्सद नहुने बताइन्। यसरी नै उनीसँग छुट्टिएर धेरै हप्ता बिताउने प्रयास गरेँ।

नयाँ वर्षको दिन थियो, उनलाई धेरै म्यासेजहरू पठाएँ। सायद उनी व्यस्त भएर होला रिप्लाई दिन भ्याएकी थिइनन्। नयाँ वर्ष, नयाँ खुसी, नयाँ जोश, नयाँ उमंगका साथ निकै रमाइलो गरी बितेको दिन थियो।

साँझपख मलाई एकजना साथीले फोन गरी 'कता छौ?' भन्दै। हत्तपत्त 'लक्ष्मीको विवाह रे पर्सी' भन्दै सुनाउँदै थिइन्।

म एकछिन छाँगाबाट खसेजस्तै भएँ। किन-किन मेरो बोली नै रोकियो। बोल्न खोजेँ तर बोली नै आएन। 'के रे?' भन्न भ्याएछु। उताबाट सबै कुरा साथीले भनिरहेकी थिइन्, म चाहिँ सुनिरहेँ। करिब रातिको एघार बजेपछि उनले मलाई फोन गरेकी रहिछन्। मैले थाहा पाइनछु।

अर्को दिन अर्थात् दुई गते बिहान करिब पाँच बजे उनको फोन आयो। सबै कुरा थाहा पाएर पनि नपाएजस्तो गरी उनले भनेका कुरामा 'अँ, अँ' भन्दै सुनिरहेँ। लगभग दुई मिनेटको फोनपछि उनले भनिन्, 'जसरी पनि आऊ, नभए म बोल्दिनँ।'

उनले 'अहिले धेरै टाइम छैन, पछि कुरा गर्छु' भन्दै फोन राखिन्। घन्टौँसम्म कुरा गरेर नसकिने हाम्रा ती गफगाफ आज दुई मिनेटमै सकिसकेको थियो। लगातार साथीहरूको फोन पालैपालो मोबाइलमा आउन थाल्यो।

फोन उठाएपछि सबैको संवाद एउटै थियो- 'तँ त विशेष मान्छे जानु पर्दछ, तैँले नै नजाने कुरा गरे को जान्छ त?' मैले सुनिरहेँ। यतिकैमा त्यो दिन पनि बित्यो। पहिलाभन्दा निकै फरक दिनका रुपमा बितेको थियो त्यो दिन।

अर्को दिन अर्थात् तीन गते उनको विवाहको दिन थियो। म बिहान उठेदेखि उनी के गर्दै छिन् होला? कस्ती भाकी छन् होला? भन्दै धेरै बेर उनलाई सम्झिरहेँ।

बिहानको १० बजिसकेको थियो। उनको विवाह मन्दिरबाट हुँदै थियो। करिब पैतालिस मिनेटको बसको यात्रा गरी सकेपछि हामी उनले भनेको लोकेसनमा पुग्यौँ। गेटबाट ठ्याक्कै भित्र छिर्दै थियौँ, उनी पनि उताबाट केही मान्छेको हुलसँगै आइन्।

जब उनलाई देखेँ, मन अवाक् भयो। धेरै दिनपछि भेटिएकी उनी निकै राम्री र सुशोभित देखेकी थिइन्। सदाका दिनभन्दा निकै फरक। उनलाई भेटेर धेरै कुरा, धेरै रमाइलो गर्ने इच्छा हुँदाहुँदै पनि के गर्नु, उनी विवाह बन्धनमा बाँधिँदै थिइन्।

जन्मेको घर, थर, परिवेश सबै आजबाट फेरिएको थियो उनको। विवाह मण्डपमा बसेर पूजा गरिरहेको त्यो सुन्दर जोडीमा मान्छेहरू पालैपालो फोटो खिच्न लावालस्कर लागिरहेको थियो। तिमीसँग जोडिएका ती हरेक कुराहरू देख्दा मलाई एकाएक आँखाअघि कुनै फिल्मको सुटिङ भएजस्तो महसुस भइरहेको थियो।

तिमीसँग बिताएका पलहरू एकाएक सम्झिएँ। आँखाबाट आँसुका थोपा झार्नु बाहेक अरु कुनै विकल्प थिएन मसँग। निकै गाह्रो त्यो बिदाइको समय तिमीबाट एकछिन पनि टाढा नहुने मन हुँदाहुँदै टाढिनु पर्ने बाध्यतामा थिएँ।

तिमी टाढा गए पनि तिम्रा यादहरू भने ताजा नै रहे। बिदाइमा जबरजस्ती हल्लाएका ती हातहरू झटपट आँखाको डिल नजिकै पुगेर आँसुका ढिक्काहरू पुछ्न समेत भ्याइसकेका थिए। तिमी सधैँ खुसी बन है प्रिय, म तिमीलाई कहिले देख्न सक्दिनँ। आज तिम्रो बारेमा खुब लेख्न मन लाग्यो अनि लेखेँ यो संस्मरण तिम्रो निम्ति।

'बिदाइको बेला तिम्रा आँखाको नानीबाट तल झर्न आँतुर आँसुहरूले झैँ हाम्रो समाजले पनि एक अवला नारीलाई विवाह मण्डपमा त्यसरी नै जबर्जस्त बस्न बाध्य नपारोस्।'

'बिहेको बेलामा तिमीसँग फोटो खिच्न आँतुर ती तिम्रा मित्रहरूको जमात तिमीजस्तै नारीहरू दाइजोको नाममा कुटिँदा, पिटिँदा, शोषित हुदा, घरेलु हिंसामा पर्दा तिम्रो न्यायको निमित्त सदैव मुकाबिला गर्न तत्पर रहून।'

दुःख र सुख त जाडो र गर्मीजस्ता एकपछि अर्को आउने प्रकृया हुन्। विद्रोही आवाजमा तिम्रो तर्फबाट हरेक नारीलाई वैवाहिक जीवनको सन्देश एवम् धेरै-धेरै शुभकामना। श्रोत - सेतोपाटी

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram