युवराज भण्डारी
प्राण बचाई राख्न चारा नपुगेपछि
जीर्ण भएको गुँड मर्मत गर्न नसकेपछि
पखेटा मजबुत हुन नपाउँदै
बाध्य भएर
उड्यो डाँडा काटेर मेरो बचेरो
गामबेँसी विचरण गर्ने उमेरमा
नहुँदा नहुँदै जाने रहर
अन्जान सहरतिर पस्यो मेरो बचेरो
जब ऊ गयो
मेरा वेग मार्ने पखेटा
भारी भए
आकाशको त्यो बाटो
कतै हरायो
समय भन्नु झझल्को भयो
उसैलाई पर्खिनु दिनरात भयो
दिन बित्यो
वर्ष बित्यो
पाँच वर्ष बित्यो
उसको कुनै खबर छैन
ऊ आहारा खोज्न मुग्लान जाने बेला
अगुवाहरू चुन्ने लहर चलेको थियो
उनीहरु चुनिए
तर चुनिएपछि मेरो बचेरोजस्तै हराए
आश्वासनको ठेकेदार पनि हरायो
म्याद सकिएका ती अगुवाहरू
आज फेरि फर्किएका छन् म्याद थप्न
थुप्रै आश्वासन लिएर
रोजगारीको सपना सिएर
रोजीरोटीको आशा दिएर
खै! कतिचोटि विश्वास गर्नु
खै! कति झुटको भर पर्नु
यिनीहरूसँग बहाना धेरै छ
पक्षीहरूसँग चाहना धेरै छ
हरे!
यो कस्तो सन्देश आयो
मेरो बचेरो फर्किँदै छ रे!
चुनाव फर्कियो
बचेरो पनि फर्कियो
तर
ऊ उड्न नसक्ने भएर पो आएको छ रे
बाकसभित्र चुपचाप
निस्सासिएर आएको छ रे
न ची-ची गर्न सक्छ रे
न भुर्र उड्न सक्छ रे
लाग्छ ऊ सपना बिसाएर आएको छ
बोल्दैन रे
लाग्छ ऊ मसँग रिसाएर आएको छ
कस्तो संजोग चुनावसँग
चुनाव
फेरि आश्वासन बाँड्दै आएको छ
बचेरो झुट नसुनेरै अस्ताएको छ।
श्रोत - सेतोपाटी
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली