logo bikalpa
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

सुम्निमाको सोमदत्तलाई प्रेमपत्र

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
२२ बैशाख २०७९, बिहीबार
Share it

कृष्ण रिमाल

आत्मीय सोमदत्त, एउटा सिद्धपुरुष।

प्रेमका खातिर संसारले प्रयोग गर्ने गरेका सबै उपमा तिमीलाई।

सोमदत्त, तिमी त्यागी थियौ। ईश्वर भक्त थियौ र ईश्वरप्रति समर्पित थियौ। त्यसैले ईश्वरले तिमीलाई फेरि मानव योनीमा जन्माएनन् होला। ८४ लाख योनी हुन्छन् रे भन्ने सुनैकी छु। तिमीलाई जीवन जगतका बारेमा धेरै प्रश्न गरे तर जीवको बारेमा गरिनछु, दुखित छु।

invotech

तिम्रो सतसंगको प्रभाव हो या सतसंग विधि र निष्ठापूर्वक गर्न नसकेर हो म फेरि मानव योनीमै जन्म लिएर फर्किएकी छु। नयाँ बिजुवाका अनुसार यो मेरो दोस्रो जन्म हो।

कोसी तिर जनचेतना र राजनौतिक उभार सृजना गर्न जाँदा विश्वेश्वर भन्ने व्यक्तिलाई हाम्रा गाउँका गाउँलेहरूले हाम्रो कथाको जनश्रुती सुनाएका रहेछन्। त्यसैलाई पुस्तकको रुप दिएर हाम्रो प्रेम गाथालाई अमर पारेका तिनै मान्छेको कृति पढेपछि मलाई पूरानी म याद भएँ।

सोमदत्त, कोसी किनारको त्यो पुरानो सिमलको रुख रुग्ण अवस्थामा छ। कस्तो भन्छौ भने, जस्तो तिमीलाई मैले अन्तिम पटक देखेकी थिएँ। कोसी अलिकति गहिरिएको छ र थोरै धार परिर्वतन गरेको छ, अरु सबै दुरुस्तै छ।

nic

तिम्रो आश्रमलाई अहिले मानिसहरूले ठूलो आस्था र प्रेमको केन्द्र मान्दा रहेछन्। तिम्रो र हाम्रो दुवै समुदायले पूजा गर्दा रहेछन्। म पनि कृष्णाष्टमीको दिन त्यही पूजा गरेर फर्किएकी हुँ।

आज तिमीसँग अलौकिक वार्ता गर्न मन लागेर यो पत्र कोरेकी हुँ। अक्षर र मन्त्रहरूको शक्ति तिमीले जति अरुले जानेका छैनन्। त्यसैले यी अक्षरहहरू मेरा भावना बनेर तिमीसम्म अवश्य पुग्नेछन् भन्ने गहिरो विश्वास छ। अब म मेरा कुरा भन्छु सुन ल।

सोमदत्त, म अहिले तेस्रो पटक आमा बन्ने सुरसारमा छु। मेरा लोग्ने तिमीजस्तै सफलताको खोजीमा प्रायः व्यस्त रहन्छन्। तिमीहरूले हामीहरूलाई मेरी भनेजस्तै हामीहरूले तिमीहरूलाई मेरा भन्न पाउनुपर्छ।

पहिलो पटक छोरी जन्मी जुन हामी दुवैको रहरकी सन्तान थिई। छोरी जन्मेको सात महिनापछि मैले फेरि पेट बोकेँ। त्यसको तेस्रो महिनामा लोग्नेको दबाबमा मैले एबोर्सन गरेँ। फेरि त्यसको चार महिनामा अर्को एबोर्सन गरेँ र त्यसेको अर्को चार महिनापछि फेरि पेट बोकेँ।

डाक्टरका अनुसार यो पटक मेरो गर्भमा मेरो लोग्नेको वंश थियो। म २३ महिनाको अन्तरालमा ४ पटक सुत्केरी भएँ। वंश परम्परा कायम भएपछि लोग्नेले सन्तानको रहर पूरा भएको भने। तर एकै ओछ्यानमा सुत्ने लोग्ने स्वास्नीबीच पनि अचम्मको प्रतिस्पर्धा र अहमता हुँदो रहेछ।

मैले मेरो लोग्नेलाई दोस्रो सन्तान तिम्रो रहरको हो, अब म मेरो रहरको तेस्रो सन्तान जन्माउँछु, मलाई सहयोग गर भनेँ। उनले असहमती जनाए तर मैले भने तिमी मान्दैनौ भने मैले अरु विकल्पको प्रयोग गर्छु। सायद उनको स्वाभिमान र अहंकारमा ठेस लागेछ क्यारे, उनी बलपूर्वक सहमत भए। मलाई आफ्ने जित भएजस्तो लाग्यो। तिमीलाई सोध्छु, यो मेरो जित जित हो कि होइन सोमदत्त?

एकदिन तिमीसँग कोसी नदीको तटमा आमा र माता शब्दमा मैले विवाद गरेकी थिएँ। तिमीले आमालाई माता भन्दा मैले भनेकी थिएँ- माता भनेर तिमीले आमाको त्यो महानता, न्यानो र प्यारो काखलाई पर पन्छाएनौ र?

प्रतिउत्तरमा तिमीले भनेका थियौ- 'माता देवीतुल्य हुन् र यो देव भाषा हो।

मैले भनेकी थिएँ- तिमीहरूले आमा र हामी नारी जातीलाई देवता बनाएर कहिल्यै मान्छे बन्न दिएनौ। आफ्नै जहान परिवार भित्रैकी त हुन् आमा पनि। तिमीहरू जेलाई पनि लुगा लगाइदिन्छौ, लुकाइदिन्छौ। लुगा भित्रकी आमालाई तिमीहरूले कहिल्यै हेर्दैनौ।

आमा बन्नु कति महान् कुरा रहेछ म अहिले महसुस गरिरहेकी छु। मैले त्यसो भन्दा तिमी रिसाएका थियौ। तिमीले त्यति बिघ्न माया गर्ने कपिला गाईलाई निर्घात पिटेका थियौ। अहिले लाग्छ लोग्ने मान्छेहरूको अहममा धक्का लागेपछि निर्दोषहरू नै पिटिनु पर्ने परम्परा उति बेला देखिको नै रहेछ।

म अहिले बाचेको समयमा यस्ता घटना हरेक पटक दोहोरिएको देख्छु। तिम्रो तप, साधनाद्वारा इन्द्रीयहरू उपर विजय प्राप्त गर्ने महान् सफलताको कोसिसजस्तै मेरा लोग्ने पनि सम्पत्ति, सामाजिक सम्मान र चर्चाको सफलताको लागि दौडधुपमा छन्। पहिला पहिला अलि बुझेकी थिइनँ तर हिजोआज त्यो आवश्यक रहेछ जस्तो लाग्छ।

सामाजिक प्रतिष्ठा, छोराछोरीको शिक्षा, परिवारको स्वास्थ्य जस्ता कुराको लागि उनको दौडधुपमा मैले पनि सक्दो स्हयोग गरेकी छु। कहिले शेयर बजार, कहिले सहकर्मीसँगको टसल, कहिले संघ-संस्थाका नेतृत्वको खिचातानी, के-के मात्र छैनन् बरा मेरा लोग्नेको दुःख। सबै कुरा घरमै बसेर भोगेकी छु जस्तो तिम्रो वंश परम्परा वृद्धिको प्रतिकूलतामा पुलोमाले भोगेकी थिइन्।

एकदिन नजानेर नै तिमीसँग आत्मा र शरीरको विषयमा बहस गरेकी थिएँ। मैले भनेकी थिएँ- यो शरीर चाँडो नै मर्ने हुनाले, उसलाई चाँडै नै छोडनु पर्ने हुनाले यसलाई पो बढी माया गर्नुपर्ने होइन र?

प्रतिउत्तरमा तिमीले भनेका थियौ- 'शरीर भनेको फूलजस्तो राम्रो हुन्छ, एकछिन वासना छरेर झर्ने। त्यसैले आत्माजस्तो अनन्त सुखलाई छोडेर क्षणिक सुखको पछि लाग्नु हुँदैन। शरीर पापको खाडल हो।'

अचेल हो जस्तो लाग्न थालेको छ। पूरा कपडामा पनि हामीलाई नाङ्गा देख्ने एक्स-रे मेसिनजस्ता लोग्ने मान्छेका आँखा देख्दा म तिमीमा झन् सत्य पाउँछु। अरुका के कुरा, बारम्बारको एर्बोसन, बोक्नी, ब्याउने गर्दा जीर्ण भएको मेरो शरी लाई मेरो लोग्नले तिमीले पुलोमा हेर्ने नजरजस्तै गरी हेर्छन्।

सायद मेरो सुवास मैले छरेर सकिसकेछु। तर वर्तमान जस्तो भए पनि मसँग यादगार विगत छ। मैले सम्झिन्छु तिमीलाई मनुवा दहमा नुहाइदिइ सकेर जुन दिन चुम्बनमार्फत तिमी भित्रको मनुवामा प्राण भरिदिएकी थिएँ। त्यो दिन मेरो मन सबैभन्दा खुसी र शान्त थियो।

तिमीलाई नढाँटी भन्छु सोमदत्त किनभने तिमी मेरो पहिलो प्रेम हौ। प्रायः अफिस र कामको बोझमा व्यस्त मेरा पतिको आँखा छलेर अरु सोमदत्तहरूको मनुवामा पनि मैले प्राण भरिदिएकी छु। के कसैमा प्राण भर्नु नराम्रो काम हो र?

तिमीहरू लोग्ने मान्छे भित्रको मनुवालाई हामी स्वास्नी मान्छे बाहेक अरु कसैले प्राण भर्न सक्दैन सोमदत्त। त्यसैले तिमीहरूले जसरी हेरे पनि, जसरी बुझे पनि हामीहरू नै तिमीहरूका प्राणदाता हौँ।

छोरीले तिम्री पुलोमा निकै बिरामी भएको भनेपछि म तिम्रो आश्रम गएकी थिएँ र तिमी कपिला मातालाई लिएर निस्केका रहेछौ। किन-किन पुलोमासँग म चिढिएकी थिएँ। सायद तिमीलाई प्राप्त गर्न नपाउनुको ईर्ष्या हुँदो हो ममा।

तर त्यो दिन मलाई पुलोमाप्रति छुट्टै श्रद्धा जागेर आयो। कुराकानीपछि थाहा भयो, उनले प्रेम गरेको भिल्ल युवक सँगको अन्तरंगले उनी निकै ठूलो तनावमा रहिछन् तर धैरैपछि त्यो भिल्ल युवक तिमी नै भएको थाहा पाएपछि उनी झन् ठूलो मानसिक द्वन्द्व र शंका उपशंकामा परेकी रहिछन्।

पाप र धर्मको परिभाषा तिमीले त्यति बेला निकै सुन्दर तवरले गरेका रहेछौ। तर सोमदत्त, उनले तिमीसँग भन्न नसकेको अर्को कुरा रहेछ। उनी भिल्ल युवकसँग रतिरागमा रहँदा त्यो भिल्ल युवकले मेरो नाम लिएको रहेछ। उनलाई भिल्ल युवक तिमी हौ भन्ने थाहा भएपछि उनीभित्र मलाई भेट्ने चाहना रहेछ।

तिमीले मलाई गर्ने प्रेम त्यस्तो बेला प्रकट भएकोमा अलिकति खुसी र अलिकति दुःख सँगसँगै लाएर आएको थियो त्यतिबेला मलाई। तिमीले तपद्वारा इन्द्रीयहरूलाई बसमा राख्न आफ्नो शरीरको मासु अग्निकुण्डमा हवन गर्दा रहेछौ। मरुभूमिमा पञ्चाअग्नी ताप्दो रहेछौ र शिशिरमा हिमालयको पैदल यात्रामा निस्किँदो रहेछौ। यी घटनाहरूमा म याद आएँ कि नाई सोमदत्त?

त्यो रात सोमदत्त र पुलोमाको शरीरले गरेको सृष्टि परम्पराको अभ्यास तिमी र पुलोमाबीच रहेनछ। बरु म र तिमी अनि पुलोमा र भिल्ल युवक बीचको रहेछ। मानस सहबास खासमा स्थुल शरीरको सहवासभन्दा शक्तिशाली रहेछ। त्यो म अहिले पनि भोग्छु।

अफिसबाट फर्किँदा मेरो लोग्नेसँग दिन बिराएर छुट्टाछुट्टै भिल्ल युवकहरू सँगसँगै आउँछन्। तर मेरो लोग्नेलाई थाहा नै हुन्न। सायद गृहस्थी सम्हालेर घरमै रहेकी मसँग पनि उनले रुचाएका पुलोमाहरू मैले थाहा नपाउने गरी मैरै घरमा बस्छन् होला।

यो पाप हो कि धर्म, म पनि पुलोमाजस्तो गहिरो संशयमा छु। तर सोमदत्त, तिमीले आफ्नो रेतस सन्तानलाई अरुको मानस सन्तान भनेर किन हेला गरेका हौ? तिम्रो छोरा मेरो घरमा आउँदा प्रायः यही गुनासो गर्थ्यो कि म मेरो बाबाको प्यारो कहिल्यै बन्न सकिनँ।

जुन सन्तानको लागि तिमीले त्यति बिध्न मानसिक कष्ट भोग्यौ, आफ्नो तप र साधनाको बिसर्जन गर्यौ, त्यही सन्तान किन तिमीलाई अप्रिय लाग्यो? सन्तान प्राप्त गर्न नसकेकोमा पुलोमालाई बाँझीभन्दा पुलोमाको मन फाँटेको रैछ। तर पछि कहिल्यै त्यसो भनेकोमा तिमीलाई पछुतो भयो कि नाई? माफी माग्यौ की नाई?

सायद तिमीले सधैँ आश्रममै रहेकी पुलोमालाई पतिव्रता ठानेनौ होला। त्यत्रो जीवनकाल भरिमा सूर्यदत्तको छोरा सोमदत्तको आमाको नाम मैले कहिल्यै थाहा पाइनँ। भोलि हामी पनि यसरी नै बेनामी हुन्छौ होला। तर पनि तिमीहरू हामीमा शारीरिक त छ नै, मानसिक पतिव्रता किन खौज्छौ?

प्रेमको पवित्रता समाजको मर्यादाभित्र कसरी प्रस्तुत हुँदा राम्रो हुने हो? मनको रमणलाई न त कुनै कानुन न त कुनै धर्मले रोक्न सक्छ।

सोमदत्त, अस्ती म मनुवा दह पुगेकी थिएँ। दहको छेउ तर्फबाट माथि गाउँसम्म बाटो पुर्याउन मोटरबाटो खनेका रहेछन्। गएको बर्खा ठूलो बाढीले दाहिने तिरबाट मनुवा दह पूरै बगाएर लगेछ। मनुवा दहको सम्झनास्वरुप सानो पानी ट्यांकी बनाएका रहेछन्।

तिम्रो आश्रमतर्फ फर्केर मनुवा दहमा निकै बेर रोएर फर्किएँ जसरी तिमीले मलाई नकार्दाको दिन म रोएकी थिएँ। सोमदत्त, सिद्धिपूर्वक गरेको साधनाले पक्कै तिमी सफल भएका छौ। परमात्मामा विलीन तिम्रो आत्माले संसारका दुखी आँतमा अरूलाई शान्ति देओस्।

तिम्री सुम्निमा।

श्रोत - सेतोपाटी

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram