कालिका । कालिका नगरपालिकामा मंगलबार पाँच दलीय गठबन्धनले बृहद आमसभा सम्पन्न गरेको छ । आमसभामा सम्बोधन गर्दै कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले राष्ट्रिय आवश्यकताका आधारमा पाँच दलीय गठबन्धन भएकाले यसको मर्मअनुसार गठबन्धन दलका उमेदवारलाई जिताउन आग्रह गरे ।
कालिका नगरपालिकामा यसअघि विकासमा सिन्कोसमेत नभाँचेको आरोप लगाउँदै कालिकाको मुहार फेर्न गठबन्धन दलका उमेदवारलाई जिताउनु जरूरी रहेको बताए ।
आफूले यही वैशाख २२ गते गठबन्धनको आमसभामा बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा पहिले र अहिलेकोे अभिव्यक्तिको भिडियो जोडेर भइरहेको प्रचारबाजीले आफूलाई कुनै फरक नपर्ने बताए ।
उनले भने, ‘कांग्रेसले मेयर पाउनुपर्ने कुरा गठबन्धन हुनुअघिको विषय हो । देशभर गठबन्धन गरी चुनावमा गइरहँदा कांग्रेसले तीनवटा महानगर पाउँदै गर्दा भरतपुर माओवादीले दाबी गर्नु स्वाभाविक हो । पार्टीले निर्णय गरिसकेपछि त्यसबमोजिम अघि बढ्नु कांग्रेसको दायित्व हो ।’
कार्यक्रममा गठबन्धनबाट मेयरका साझा उमेदवार शिवराम केसीले कालिका नगरमा थाङखोला र बुङखोलाको डाइभर्सन गर्नुपर्ने आवश्यकता, कालिकामा रोकिएको शहीद स्मृति बहुमुखी क्याम्पस सञ्चालन र सुकुमबासीका लागि लालपुर्जा वितरण गर्ने उद्देश्यका साथ गठबन्धन दल चुनावमा होमिएको बताए ।
आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता रहेको बताउँदै आवश्यक बजेट विनियोजनका लागि कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस प्रदेश समितिका सभापति इन्द्र बानिकाको ध्यानाकर्षण गराए । नेता बानियाले स्थानीय निकायको मुहार फेर्ने उमेदवारहरुको योजनालाई पूरा गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा नेपाली चलचित्र क्षेत्रका सदावहार नायक भुवन केसीले सांगीतिक प्रस्तुतिसहित गठबन्धन दलका उमेदवारलाई जिताउन अपिल गर्दै विजयपश्चात भव्य सांगीतिक प्रस्तुति दिन आफूहरु कालिका नगरपालिका आउने बताए । कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नेपाल चलचित्र संघका अध्यक्ष रवीन्द्र खड्कालगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेस नेता एवं पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, कमल आचार्य, जनमोर्चाका नेता डम्बर पुरी, नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभाका मन्त्री घनश्याम दाहाललगायतले गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली