logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बाघले भरियो खोर

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
५ असार २०७९, आईतवार
Share it

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन्। हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन। निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्। तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो। दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो। निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ। झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए। कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो। कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ। हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ। आचार्यले भने, ‘तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन। भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन।’ यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए। चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ। जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो। उनका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो। तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ। बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो। बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ। सन् २०१८ मा गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो। यस वर्ष बाघ गणना भइसकेको छ। विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram