धनगढी- धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ।
यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सूदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो।
बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायतबिना बनाइएका पुराना घरहरूको वायरिङ, अव्यवस्थित ग्यासको प्रयोग र जनचेतनाको कमीमा गरिने लापरबाहीका कारण यो समस्याले विकराल रूप लिँदै छ।
अझ लैङ्गिक अल्पसंख्यक समुदायहरू परिवारबाट टाढा रहने, एकै ठाउँमा धेरै जना बस्ने र शिक्षाको कमीले आगलागीका घटनालाई बढोत्तरी दिएको छ। यी सबै विविध कारणले यो समुदाय अझ बढी संकटासन्न भएको दाबी सूदुर पश्चिम समाजमा एमएनडई अफिसर निरङ्ग चाैधरीले गरेका छन्।
यस्ता तालिमहरू यो समुदायलाई पहिलो पटक प्रदान गरिएको र यो तालिमले समाजका सम्पूर्ण साथीहरूलाई जीवन रक्षाका लागि उपयोगी सीप दिएको उनको भनाइ छ। साथै यो सीप उनीहरूले आफू निकटका साथीहरूमा पनि पुर्याउन प्रयास गर्ने भन्दै सुपर परियोजनासँग नियमित सहकार्यको अपेक्षा राख्दै परियोजनालाई धन्यवाद दिएका थिए।
धनगढी सूदुर पश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका हो। यस उप-महानगरपालिकामा प्रदेशभरिकै लैङ्गिक अल्पसंख्यकहरूको भारी मात्रामा बसोबास रहेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली