logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

इन्धनको भारी मूल्यवृद्धिमा प्रधानमन्त्री र वाणिज्य मन्त्रीकै सहमति

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
६ असार २०७९, सोमबार
Share it

६ असार, काठमाडौं । नेपाल आयल निगमको आइतबार साँझको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर २१, डिजल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेपछि यसको विरोध भइरहेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी अब पेट्रोल एक लिटरको १९९ र डिजल तथा मट्टितेल १९२ रुपैयाँ पुगेको छ ।

इन्धनको मूल्य निर्धारण गर्न निगमको सञ्चालक समिति स्वतन्त्र छ । तर एकै पटक यति धेरै मूल्य बढाउन सञ्चालक समितिका अधिकारीहरु डराइरहेका थिए । तर उनीहरुलाई प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले नै ढाडस दिएपछि उच्च मूल्यवृद्धि भएको निगमका अधिकारीहरु नै बताउँछन् ।

सञ्चालक समितिले लगेको प्रस्तावमा प्रधानमन्त्री र मन्त्रीले स्वीकृति दिएपछि समितिमा केही असहमतिका बाबजुद इन्धनमा उच्च मूल्यवृद्धि भएको छ । निगम सञ्चालक समिति अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेय र निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले प्रधानमन्त्री देउवा र मन्त्री दिलेन्द्रप्रसाद बडूको प्रस्ताव भन्दै सञ्चालक समितिको बैठकमा दबाव सिर्जना गरेको सञ्चालक समिति स्रोत बताउँछ ।

बोर्ड बैठकमा के भयो ?

आइतबार साँझ साढे ५ बजे वाणिज्य मन्त्रालयमा बसेको निगम सञ्चालक समितिको बैठक २ घण्टासम्म चलेको थियो । बैठकमा सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य सचिव गणेशप्रसाद पाण्डेय, अर्थ मन्त्रालयका सहसचिव डा. अर्जुनकुमार खड्का, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ शर्मा सहभागी थिए ।

यस्तै वाणिज्य विभागका महानिर्देशक लिलाप्रसाद शर्मा, निगमका विज्ञ सदस्य नरबहादुर ऐर, निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी र आयल निगमका कर्मचारी ट्रेड युनियनका अध्यक्ष माधुमास कोविद पुन बैठकमा सहभागी थिए । सञ्चालक समिति सदस्य एवं वाणिज्य मन्त्रालयकै सहसचिव राधिका अर्याल बैठकमा अनुपस्थित भइन् ।

बैठकको सुरुवात गर्दै कार्यकारी निर्देशक उमेशकुमार थानीले निगमको वित्तीय अवस्था कमजोर भएकाले मूल्य समायोजन गर्नुपर्ने भन्दै मूल्यवृद्धिको दर प्रस्ताव गरेका थिए । उनले डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गर्ने प्रस्ताव गरेका थिए । त्यस्तै हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्यतर्फ १०० अमेरिकी डलर बढाउने उल्लेख थियो ।

सदस्यहरुले मूल्यवृद्धिको औचित्य प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा कार्यकारी निर्देशक थानीले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको, अर्थ मन्त्रालयले भ्याटबापतको बक्यौता फिर्ता नदिएको, भारतीय आयल निगमलाई तिर्ने रकमको ग्यारेन्टी नगरेका जस्ता कारणले मूल्य बढाउन परेको बताएका थिए ।

केही सदस्यहरुले डिजेल र मट्टितेलको मूल्य नबढाउन आग्रह गरेका थिए । तर, प्रस्तावित मूल्यमा माथि (प्रधानमन्त्री र वाणिज्य मन्त्री) बाट अनुमति भएको जवाफ थानी र पाण्डेयले एक स्वरमा दिएको एक सञ्चालक समितिले बताए ।

सदस्यहरुले बोर्ड बैठकमा निगमको सञ्चालन खर्च घटाउने, सवारी साधन कम प्रयोग गर्ने, शाखा महाशाखाहरु गाभ्ने जस्ता कार्यबाट सुशासन सुरु गर्नु पर्ने र तत्काल डिजेल र मट्टितेलको मूल्य नबढाउन माग गरेका थिए । ती सदस्यले भने ‘यस्तो प्रस्तावमा अधिकांश सदस्यले गम्भीर हुन भने पनि कार्यकारी निर्देशक र अध्यक्ष मौन बसे ।’

बोर्डका अर्का सदस्यले डिजेलको मूल्य बढाउँदा बजार महँगिने र सर्वसाधारण बढी समस्यामा पर्ने भन्दै कार्यकारी निर्देशक थानी र अध्यक्ष पाण्डेयको ध्यानाकर्षण गराएका थिए । तर सचिव पाण्डेय र कार्यकारी निर्देशक थानीले एकै लवजमा यो प्रस्तावमा माथि सहमति भइसकेको जवाफ दिए । एक सदस्यले माथि भनेको को हो भन्दै प्रश्न गरेपछि जवाफमा थानीले प्रधानमन्त्री र वाणिज्य मन्त्रीले सहमति दिएको खुलाएका बैठकमा ती सदस्यले बताए ।

आइतबार धेरै मात्रामा इन्धन बिक्री भइसकेकाले मूल्य बढाउँदा व्यवसायीलाई लाभ मिल्ने भन्दै यस्तो नगर्न पनि सदस्यहरुले अध्यक्ष र कार्यकारी निर्देशकलाई आग्रह गरेका थिए ।

जवाफमा वाणिज्य सचिव पाण्डेले ‘अहिले यसैलाई स्वीकार गरौं, मध्यराति मूल्य बढेको सूचना म सार्वजनिक गर्छु भन्दै बैठक बिट मारेर माइन्युट लगे’ एक सहभागीले भने । यसबारे जानकारी लिन निगम अध्यक्ष पाण्डेसँग पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने मूल्य बढाउने विषयमा हरेक पटक प्रधानमन्त्री र मन्त्रीसँग समन्वय गर्नु सामान्य भएको बताए । ‘यस अघि पनि र अहिले पनि उहाँहरुसँग सल्लाह गरेरै निर्णय गर्ने हो’ कार्यकारी थानीले भने ‘सरकारको सचिव नै बोर्ड अध्यक्ष भएपछि यसमा सल्लाह नसल्लाहको कुरै भएन ।’

मूल्यवृद्धिको पृष्ठभूमि

नेपालले पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय आयल कर्पोरेसनले गत असार २ गते नेपाललाई इन्धनको नयाँ मूल्य पठाएको थियो । समान्यतया भारतबाट नयाँ मूल्यसूची आएपछि नेपालमा इन्धनको मूल्यवृद्धि गरिन्थ्यो ।

तर, उद्योग, वाणिज्य तथा तथा आपूर्ति मन्त्री बडू र वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रशाद पाण्डेय स्वीट्जरल्याण्ड भ्रमणमा रहेको कारण निगमको बोर्ड बैठक बस्न सकेन ।

२ असारमा नै निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको भन्दै घाटा बढेको विज्ञप्ति जारी गर्‍यो । यो विज्ञप्ति निकाल्नुको उद्देश्य सर्वसाधारण र इन्धन व्यापारीलाई मूल्यवृद्धि हुन लागेको पूर्व जानकारी दिनु थियो ।

नयाँ मूल्य प्राप्त भएको चार दिनपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा अत्यधिक मूल्यवृद्धि गरेको हो ।

श्रोत - अनलाइन

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram