सिमकोट – नेपाल टेलिकमले नाँम्खा गाउँपालिका- ५ को नारा लेकमा टुजी टावरको निर्माण कार्य सम्पन्न भएको छ।निर्माण कार्य सम्पन्न भएसँगै नारा लेक लगायतका आसपासका क्षेत्रका स्थानीयलाई सञ्चार सम्पर्क गर्न सहज भएको छ।
यारी गाउँका सुनाम तामाङले नारा लेकमा टेलिकमको टावर बनेपछि सम्पर्क गर्न सहज भएको बताए। यसअघि नारा र यारी क्षेत्रमा फोन गर्नुपर्यो भने इलिङको टावरले काम गर्ने अग्लो स्थानमा जानु पर्थ्यो।
नारामा टावर निर्माण भएपछि यारी, मुचु, तुम्कोट, चोर लाग्न, लिमीको केही भूभाग लगायतका स्थानमा सहजै सम्पर्क गर्न सकिएको छ। यद्यपि उक्त टावरबाट खोचमा रहेको हिल्सा क्षेत्रमा भने नेटवर्कले काम गर्न सकेको छैन।
नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजीआङ्मु लामाले नारा लेकमा टुजी सेवाको टावर निर्माण भएर सञ्चालनमा आएको जानकारी दिइन्।
उक्त टावर निर्माण भई सञ्चालनमा आएपछि उत्तरी हुम्ला पनि सञ्चार सम्पर्कमा जोडिएको छ। मोबाइल सेवा सुचारु उक्त टावरबाट भएको र अब चाँडै फोरजी टावर पनि निर्माण हुने छ। त्यसपछि सो क्षेत्र इन्टरनेटको पहुँचमा जोडिने छ।
नाँम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाको निक्कै ताकेतापछि टावर निर्माण कम्पनीले आफ्नो कार्य सम्पन्न गरेको बताए।
उनले टावर निर्माणका लागि सम्झौता भएको पाँच वर्षपछि निर्माण कार्य भएर सञ्चालनमा आएको जानकारी दिए।
टावरका केही सामानहरू गतवर्ष निर्माण स्थलमा पुगेको भए पनि जडान कार्य भने अहिले आएर भएको हो। अब लिमीमा टावर भने बन्न बाँकी रहेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली