खगेन्द्र पराजुली, नवलपुर ।
नवलपुर जिल्लाकै पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले ३५ औं स्थापना दिवस मनाएको छ । आज शुक्रवार क्याम्पस परिसरमा संघीय साँसद डा. शशांक कोइरालाले समारोहको उद्घाटन गरे ।
कोइरालाले विकास र सम्बृद्धिको आधार नै शिक्षा भएकोले राज्यको ध्यान अव उद्यमसँग जोडिदै आत्मनिर्भर आर्थिक बिकासमा लागि प्राविधिक शिक्षालय नजिकको पहुँचमा पुर्याउनुपर्ने बताए ।
क्याम्पस समितिका अध्यक्ष महेन्द्र पोख्रेलको अध्यक्षता तथा शैक्षिक संस्थाका दर्जनौ ब्यक्तित्व, सामाजिक राजनैतिक अतिथिको उल्लेख्य सहभागिता रहेको समारोहमा क्याम्पसमा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान तथा विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका थिए ।
समारोहमा आफ्ना मातापिताका नाममा छात्रवृति अक्षयकोष स्थापना गरेर सहयोग गर्दै आएका सिद्धार्थ आवासाीय माविका संस्थापक एवं शैक्षिक ब्यक्ति भोजराज दाहालले १ लाख ५१ हजार रुपैंयाको अक्षयकोष स्थापनार्थ चेक हस्तान्तरण गरेका छन् । दाहालले अहिलेसम्म कावासोतीका २२ विद्यालय र ४ वटा क्याम्पसमा समान रकमको अक्षयकोष स्थापनार्थ दान गरेका छन् ।
स्वर्गीय देवीलाल–रमादेवी दाहाल स्मृति छात्रबृत्ति अक्षयकोषमार्फत आर्थिक अवस्थाका कारण शिक्षाको पहुँचबाट विमुख हुनुपर्ने अवस्थाको अन्त्यका लागि योगदान हुने अपेक्षाका साथ आफूले विद्यालय–क्याम्पसमा सहयोग गरेको दाहाल बताउँछन् ।
क्याम्पसमा आयोजित कार्यक्रममा विद्यार्थी तथा स्थानीय र राष्ट्रिय कलाकारहरु समेतले साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
यसैबीच कावासोतीमा चलिरहेको सातौ नवलपुर महोत्सवमा प्रमुख अतिथिका रूपमा अवेर पुगेका सांसद कोईरालाले नवलपुर उद्योग वाणिज्य संघ कार्यालय स्थापनाका लागि जग्गा प्रवन्धमा पहल गर्ने प्रतिवद्धता गरे । उनले निर्माणका क्रममा रहेको नारायणगढ बुटवल सडक छिटो छरितो सम्पन्न गर्नका लागि धेरै पटक सरोकारवालालाई झक्झकाईरहेको बताउँदै सडक सम्पन्न गर्नका लागि निरन्तर लागिरहेको बताए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली