खगेन्द्र पराजुली, नवलपुर, २१ ।
गैँडाकोटमा आजदेखि चैत्र १ गतेसम्म चल्ने प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ को उद्घाटन भएको छ ।
संघीय सांसद डा. शशांक कोइरालाले एक समारोहकाबीच गैंडाकोट २ स्थित नारायणी नदी किनारमा मेलाको उद्घाटन गरे ।
प्रदेश राजधानी पोखरा हुँदाहुँदै पनि पहिलो पटक प्रदेशस्तरीय औधोगिक ब्यापार मेलाका लागि नवलपुर छनौट गरेर आयोजना हुनु नवलपुरका लागि खुसीको विषय रहेको सांसद कोइरालाको भनाई थियो ।
नवलपुर जिल्ला गण्डकीका बाँकी १० जिल्लाका मानिसहरुको स्थानान्तरण गर्ने थलो समेतका परिचित रहेकाले यो जिल्लासँग गण्डकी प्रदेशका सवै जिल्लाको भाइचारा सम्वन्ध रहेको कोइरालाले बताए ।
उनले महोत्सवका माध्यमवाट नवलपुरका सम्भावित सम्भावनालाई प्रचार–प्रसार र प्रवद्र्धन गर्नमा सवै पक्षले जोड पुर्याउनुपर्ने सुझाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको मेलाको सहकार्य गैँडाकोट उद्योग वाणिज्य संघले गरेको छ भने गण्डकी प्रदेशभित्र रहेका २१ वटै उद्योग वाणिज्य संघको समन्वय रहेको छ ।
मेला संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवकुमार कोइरालाले समग्र गण्डकीको आर्थिक उत्थानको लागि निजी क्षेत्रले आटेको बृहत र महत्वाकांक्षी महाअभियान रहेको बताए । गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिंगो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको बताए ।
सिंगो गण्डकीलाई मेलामार्फत जोड्न तथा प्रवद्र्धन गर्नका लागि गरिएको यो प्रयत्न आफैमा महत्वपूर्ण रहेको गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका सह संयोजक अमृत भट्टचनको भनाइ छ ।
मौसमका हिसाबले अनुपयुक्त समय लागेपनि महोत्सवमा ८० हजार टिकट बिक्रि हुने आयोजकको विश्वास रहेको छ । महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । मेलामा करिब ३ सय वटा स्टलहरु रहेका छन् ।
मेलाको आकर्षणका रुपमा औधोगिक तथा व्यापारमेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । मेलाबाट अनुमानितरु. १ करोड ६० लाख आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको भने अनुमानित रु. १ करोड २५ लाख खर्च हुने जनाएको छ ।
मेला उद्घाटन पूर्व भृकुटीचोकदेखी विभिन्न झाँकी र ब्यानर सहित निस्किएको शोभायात्रा र्याली मेलास्थलमा प्रवेश गरी औपचारीक उद्घाटन समारोहमा परिणत भएको थियो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली