खगेन्द्र पराजुली,
नवलपुर, चैत १०।
देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको संयुक्त टोलीले सम्भावित नयाँ बाटोको अध्ययन अनुगमन गरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार क्षेत्रलाई पुर्व पश्चिम मुख्यमार्गसँगको नजिकको दुरीको पहुँचमा जोड्ने उदेश्यले सम्भाब्यता अध्ययनका लागि निरिक्षण भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दिपेन्द्र सुनारी मगरले बताएका छन् ।
गण्डकी प्रदेशले प्राथमिकतामा राखेको बुलिङटार, बतासे, छरछरे, बाह्रकोल हुँदै रजहरस्थित मुख्यमार्गको पहुँच रहने बाटो दुरीका हिसावले छोटो रहेको सुनारी बताउँछन् ।
उनले दुरी मात्रै नभएर जोखिम, भौगोलिक बनावट, प्राविधिक–ईन्जिनियरिङ र इन्धन लगायतका हिसावमा राम्रो रहेकाले दिगो र हाईवे पुग्न सहज–सरल हुने भएकाले रणनैतिक बाटोको रुपमा लिएको बताए ।
नवलपुरको पहाडी क्षेत्रमा सडक सञ्जालको रुपमा जोडिएका ग्रामीण सडकहरुको सञ्जालले कावासोती, दलदले, भेडावारी, गैंडाकोट लगायतका क्षेत्रमा पहुँच पुगेको तर ति सडकहरु बाह्रै महिना सुचारु हुने अवस्था नहुँदा नहुँदै पनि अर्को ट्रयाकको अध्ययन थालेको सन्दर्भमा भविश्यको सहज सडक सञ्जालको सम्भावनाका लागि अन्तर पालिका स्तरीय चासो बनेको सुनारीको भनाई छ । उनले भने– “म यस विषयमा सचेत नै छु, धेरै बाटोहरु टुक्रे बाटोहरु बनाउनुभन्दा निकासका बाटाहरुलाई स्तरबृद्धि गरेर गुणस्तरीय बाटो बनाउन सकियो भने आवागमनमा सहज र दिगो हुन्छ भन्नेमा म बिश्वस्त छ, तर प्लानिङ गर्दै गर्दा आजको प्लानिङले २० वर्ष पछाडी ३० वर्ष पछाडी हामीले कस्तो खालको पुर्वाधार तयार गर्ने भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले बुलिङटार छरछरे रजहर बाटोलाई रणनैतिक योजनाको बाटोको रुपमा लिएका छौं ।”
उनले ईन्जिनियरिङ अध्ययनबाट समेत ग्रेडका हिसावले चट्टान, स्लोप, जोखिम कम पर्ने भएकाले पनि अन्तर पालिकासँगै गण्डकी प्रदेशको समेत प्राथमिकतामा रहेको सुनाए । सवैभन्दा छोटो दुरीको मानिएको बुलिङटार पोखरी दलदले सडक ३९ किलोमिटर रहेकोमा यो बाटो सुचारु गर्न सके करीव २६ किलोमिटरमा करिडोर–मुख्यमार्ग जोडिने सुनारी बताउँछन् ।
आन्तरिक रुपमा पालिकाले आफ्ना ईन्जिनियर कर्मचारीलाई परिचालन गरी सम्भाब्यता अध्ययनका गतिविधि सञ्चालन गर्दै लेखाजोखा राख्ने गरेपनि दुवै पालिकाका जनप्रतिनिधि र प्राविधिक कर्मचारी सहित संयुक्त अनुगमन गरेको यो पहिलो पटक हो । यो बाटोलाई तिनै तहका सरकारले चासोका साथ कार्यान्वयनमा लैजान सके दीर्घकालिन रुपमा तराई पहाड गर्ने नवलपुरवासीलाई प्रत्यक्ष फाइदा पुग्नुका साथै ब्यापारिक र ब्यवसायिक दृष्टिकोणले उत्पादनको ओसार पसार–ढुवानीबाट प्रत्यक्ष लाभान्वित हुने देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने बताउँछन् ।
बुलिङटारको वडा नं. २, ३, गैंडाकोट नगरपालिकाको वडा नं. १६ र देवचुली नगरपालिको वडा नं. १६, १७ लाई यो वाटोले प्रत्यक्ष प्रभाव पार्ने भएपनि पहाड–तराई गर्ने जोकोही सहज यात्राबाट लाभान्वित हुने बाटोको रुपमा यसलाई लिईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली