logo bikalpa
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

क्षयरोग विरुद्धको दिवसः नवलपुरमा अन्तरक्रिया, फलफूल वितरण गण्डकीमै नवलपुरमा क्षयरोगी धेरै

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१० चैत्र २०७९, शुक्रबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, चैत १० ।
स्वास्थ्य कार्यालय नवलपुरले पत्रकार तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । क्षयरोग निवारण दिवसको अवसर पारेर कावासोतीमा अन्तरक्रिया गरेको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो ।
कार्यक्रममा सहभागीलाई स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले डिजिटल प्रस्तुति प्रस्तुत गरेका थिए । क्षयरोगको पालिकादेखि राष्ट्रिय स्थिति, गरिएका प्रयास, निवारणमा चुनौती तथा सवैले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रियामा चर्चा भएको थियो ।
प्रमुख अतिथि बिश्वकर्माले. औषधि खाँदा समेत निको नहुने प्रकृतिको क्षयरोग पनि छ भन्ने जान्दाजान्दै यस्तो विषयमा जनचेतना जगाउने खालका गतिविधि सञ्चालन गर्न गम्भीर हुनुपर्ने बताए । उनले जिल्ला समन्वय समितिको सहयोग, भूमिका र सहकार्यका लागि आफू तयार रहेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी सुभाषकुमार लामिछानेले कुनै पनि चुनौतीलाई सामान्य रुपमा लिएर समयमै जाँच र ब्यवस्थापन गर्नसके भयावह रुप नलिने तर त्यसलाई वेवास्ता गरियो भने प्रवाह बढ्दै जाँदा जटिल स्थिति आउने धारणा राखे । उनले समाजमा सचेतना अभावका कारण यस्तै बातावरण विद्यमान् रहेकाले सरोकारवाला सवैले चासो राख्न सुझाए ।
पत्रकार लक्षित अभिमुखीकरणमा २ दर्जन क्रियाशील पत्रकारको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममै स्वास्थ्य कार्यालयले सहभागीको सुगर, प्रेसर परिक्षण गर्नुका साथै खकार परिक्षणका लागि नमूना संकलन गरेको थियो ।
स्वास्थ्य कार्यालयले यस्तै अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी कर्मचारी लक्षित समेत गरेको हो । प्रहरी प्रमुख भुवनेश्वर तिवारीले संक्रमितको स्वासप्रस्वास र हावाका माध्यमबाट फैलिने क्षयरोग भीडभाडजन्य सार्वजनिक यातायातका साधनमार्फत सर्ने र फैलने सम्भावना धेरै देखिएकाले सुरक्षा संयन्त्र, ट्राफिक प्रहरी कर्मचारी समेतले ध्यान दिनुपर्ने बताए । सार्वजनिक यातायातका सरोकारवाला पक्षले यात्रुलाई मर्यादित ढंगबाट सुरक्षित यात्राको वातावरण बनाउन पनि सुझाएका छन् ।
यसैबीच, क्षयरोग विरुद्धको दिवसकै अवसर पारेर स्वास्थ्य कार्यालय नवलपुरले मध्यविन्दु जिल्ला अस्पताल डण्डाको परिसरमा रहेको डिआर (ड्रक्स रेसिस्टेन्ट) मा उपचाररत विरामीलाई फलफूल वितरण तथा हौसला प्रदान गरेर दिवस मनाएको छ ।

गण्डकीमै नवलपुरमा क्षयरोगी धेरै
गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा अहिले पनि क्षयरोगीका विरामी धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । क्षयरोग विरुद्धको दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय नवलपुरले सदरमुकाम कावासोतीमा आयोजित एक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
भारतसँगै जोडिएको नजिकको खुल्ला सीमा भएका कारण पनि नवलपुरमा क्षयरोगका बिरामी धेरै भएको कार्यालयका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारी बताउँछन् । बिश्वमै धेरै जनसंख्या रहेको भारतमा क्षयरोगी (टिवी)का विरामी समेत धेरै छन् । नेपालको समग्र रिपोर्ट हेर्दा भारत नजिक सीमाका जिल्लामा क्षयरोगीको संख्या धेरै देखिनुलाई खुल्ला सीमाना, सहज आउजाउ र अत्यन्त मित्रवत् तथा पारस्परिक र पारिवारिक सम्वन्ध यसका प्रत्यक्ष सूचकका रुपमा रहेको तिवारीको भनाई थियो ।
भौगोलिकताका हिसावले जिल्लामा धेरै जनसंख्या र जनघनत्व रहेको शहर–वजार क्षेत्रमा क्षयरोगीको संख्या धेरै छ भने जिल्लाकै पहाडी तथा ग्रामीण भेगमा थोरै विरामी छन् ।
स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ सय ३४ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् ।
जिल्लामा २ सय २ जना पुरुष र १ सय ३२ जना महिला गरि ३ सय ३४ जना नयाँ क्षयरोगी पहिचान भएको तथ्याङक छ ।
गत आर्थिक वर्षको यो अवधिमा ३ सय १२ जना क्षयरोगी भेटिएको थियो । यस वर्ष यो अवधिमा २२ जना धेरै विरामी पत्ता लागेका हुन् ।
सबैभन्दा धेरै गैँडाकोट नगरपालिकामा ८१ त्यसपछि कावासोती नगरपालिकामा ६६, देवचुली नगरपालिकामा ५१ र मध्यविन्दु नगरपालिकामा ५० जना विरामी फेला परेका जनाईएको छ । विनयी त्रिवेणी गाउँपालिकामा ३७ जना, हुप्सेकोट गाउँपालिकामा २९ जना, बुलिङटार गाउँपालिकामा १२ जना र वौदीकाली गाउँपालिकामा ८ जना नयाँ विरामी भेटिएको स्वास्थ्यको तथ्याङ्कमा प्रविष्ट गरिएको छ ।
यहाँ मध्यविन्दु जिल्ला अस्पतालमा ड्रक्स रेसिस्टेन्ट होस्टेल रहेको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर नियमित रुपमा औषधि सेवन गराएर निको पार्ने र समुदायमा रोग फैलन नदिने उदेश्यले निशुल्क आवासीय र खानपानको प्रवन्ध सहित विरामीलाई राखिएको ड्रक्स रेसिस्टेन्टका मेडिकल अधिकृत डा. आशिष दिप पौडेल बताउछन् ।
यहाँ अहिले जिल्लाका ७ जना विरामीले आवासीय सहितको सेवा लिईरहेका छन् भने जिल्ला बाहिरका ३२ जनाले सोही विभागबाट औषधि लगेर घरमै बसेका छन् । यस्ता डीआर होस्टेल गण्डकी प्रदेशमा बाग्लुङ र कास्कीमा पनि छन् । देशैभर २२ वटा डीआर सेन्टर रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।
नवलपुरमा ४४ वटा डट्स केन्द्रबाट विरामीलाई सेवा प्रवाह गर्दै आईरहेको बताईएको छ । डट्स केन्द्रबाट नजिकका क्षयरोगीका विरामीले नियमित औषधि सेवा लिएका हुन्छन् । गण्डकी प्रदेशमा ७ सय ४९ डट्स केन्द्र छन् ।
नवलपुरमा साउनयता ८ महिनाको अवधिमा क्षयरोगीका नौ जना पुरुष र तीन जना महिला गरी १२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
जिल्लामा गत आर्थिक वर्ष २०७८÷०७९ को असारमसान्त सम्म ५ सय २९ जना क्षयरोगका विरामी फेला परेका थिए भने १९ जनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा ४ सय १६ जना क्षयरोगी फेला परेकामा १८ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram