खगेन्द्र पराजुली,
नवलपुर, चैत २५ ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले कृषि क्षेत्रको रुपान्तरणका लागि आफू लागिरहेको बताएका छन् । देवचुलीको भौगोलिक बनावटको स्वरुप, जमिन, माटो, हावापानी अनुसार विविधतायुक्त रहेकाले कृषि उपज र पशुपंक्षीका लागि उपयुक्त एवं संभावनायुक्त क्षेत्रका रुपमा रहेको उनले बताए ।
देवचुली ९, १० र ११ का आंशिक टोलका उपभोक्ता आवद्ध जलुके घुमाउरे सिचाई नहर तथा जल उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख न्यौपानेले कृषि क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न नगरपालिकाले मल–बीउ, फलफूलका बेर्ना, यन्त्रीकरणतर्फ औजार–उपकरण, प्रोत्साहन स्वरुप उत्पादन र विक्रीको तथ्याङ्कका आधार लगायतमा कृषक र नगरपालिकाको साझेदारीका साथै पूर्ण अनुदान र निश्चित प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताए ।
उनले आत्मनिर्भर र प्रतिफलमुलक उदेश्य प्राप्ति र दिर्घकालिन कार्यान्वयनका लागि नीतिगत रुपमै कार्यविधिबाटै नगरपालिका अगाडी बढेको बताए ।
कृषिमा क्रमिक रुपमा ब्यवसायिकीकरण भईरहेको जिकिर गरेका उनले केही चुनौतीहरु रहेको बताए । प्रमुख चुनौतीको रुपमा रहेको बजारीकरणको समस्याका विषयमा कृषक, सरोकारवाला पक्ष र स्थानीय सरकारबीचको समन्वयले समाधानको विन्दु पहिल्याउन पर्ने उनको तर्क थियो ।
जलुकेले सञ्चालन गरेको स्थानीय उत्पादनको वजारीकरणको अभियानलाई आफुले असल अभ्यासको रुपमा लिएको बताउँदै यसलाई निरन्तरता दिन नगरपालिकाले सक्दो सहायता गर्ने प्रतिवद्धता जनाए ।
गत माघ १४ गते संस्थाले कृषि उपज केन्द्रको सुभारम्भ गर्दै स्थानीय स्तरमा उत्पादित बस्तुको खरिद तथा विक्री गर्दै आईरहेको छ ।
यहाँ नगरपालिका र वडाले समेत कृषिका विषयगत क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । नगरपालिकाले कार्यविधी नै बनाएर एक विगाहा भन्दा बढी क्षेत्रफलमा घाँसखेती गर्ने ब्यवसायिक तथा समुहगत किसानलाई गोवर मलमा पूर्ण अनुदान, वीउ बेर्ना, औजार उपकरणमा लागत साझेदारी अनुदान, गरिव–विपन्न, दलित, अपाङ्गता भएकालाई आत्मनिर्भिर गराउने उदेश्यले बीउपूँजी अवधारणा अन्तर्गत बाख्राका पाठी, कुखुराका पोथी वितरण, प्रोत्साहन स्वरुप सहकारी संस्थामा विक्री भएको दूधको परिमाणका आधारमा दूधमा थप अतिरिक्त अनुदान रकम प्रदान गर्दै आएका छन् ।
नगरपालिकाले रजहरमा सञ्चालनमा ल्याउन लागेको पशु आहाराका निम्ति उपयोगी साईलेज कारखानाको पुर्वाधार निर्माण कार्य भैराखेको छ ।
देवचुलीको भौगोलिक क्षेत्रलाई आधार मान्दा पहाडी स्थानीय उत्पादन तरुल, पिडालु, भुईकटहर उपजतर्फका प्रमुख उत्पादन हुन् । समथर जमिनमा धान, मकै, तोरी, गहुँ, मौसमी तथा बेमौसमी तरकारी खेती मुख्य रुपमा मानिन्छन् भने पशुपंक्षीतर्फ गाई–भैसी, बाख्रा, बुंगुर पालन ब्यवसायिकतातर्फ बढेका छन् । यस्तै यहाँको नारायणी नदी नजिकका सिमसार प्रकृतिका जमिनमा ब्यवसायिक माछा तथा समथर भागमा ब्यवसायिक मौरी पालनमा कृषक आवद्ध छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली