खगेन्द्र पराजुली, नवलपुर, चैत २९ ।
नवलपुरमा पछिल्लो समय शून्यमा रहेको कोभिड १९ का सक्रिय संक्रमित जिल्लामा ४ जना छन् । सोमवार २ जना र मंगलवार २ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुने चारै जना कावासोतीका हुन् । अहिले उनीहरु होम आईशोलनमा रहेका स्वास्थ्य कार्यालयका प्रयोगशाला निरिक्षक डिल्लीराम तिवारीले जानकारी दिए ।
यसैबीच, जिल्लामा संक्रमित भेटिन थालेपछि जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) को बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बुधवार बिहान बसेको बैठकले संक्रमण रोकथाम, नियन्त्रणका सन्दर्भमा निर्णय गरेको छ ।
बैठकमा स्वास्थ्य कार्यालय नवलपुरले कोभिड १९ को हालसम्मको स्थिति र भए गरेका क्रियाकलाप प्रस्तुत गरेको थियो ।
यही चैत महिनादेखि देशका विभिन्न जिल्लामा बढ्दै गएको कोरोना भाइरस नवलपुरमा समेत देखा पर्न थालेपछि सवैले सचेतना अपनाउन भनिएको छ । सम्पूर्ण सरकारी, गैरसरकारी तथा शैक्षिक संस्था, एवं नागरिकले जन–स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सचेतना फैलाउनुपर्ने निर्णय गरेको छ ।
यस्तै, गण्डकी प्रदेशको एकमात्र सीमानाका त्रिवेणी सुस्तामा भारतबाट आवतजावत गर्ने ब्यक्तिमा तत्काल कोभिड १९, मलेरिया, डेङ्गु, लगायतका संक्रामक रोगको नियमित परिक्षणको प्रवन्ध मिलाउदै कार्यान्वयन थाल्ने निर्णय गरेको छ । नाकामा नियमित परिक्षण गर्न विनयी त्रिवेणी गाउँपालिकाले स्वास्थ्यकर्मी ब्यवस्थापन मिलाउने, स्वास्थ्य कार्यालय नवलपुरले परिक्षण किट तथा अन्य आवश्यक सामग्रीको प्रवन्ध गर्ने र थप जनशक्तिका लागि प्रदेश र संघ सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयमा आग्रह गर्ने निर्णय भएको जनाईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली