खगेन्द्र पराजुली,
नवलपुर, बैशाख २ ।
नवलपुरका थारु जातिले मनाउँदै आएको परम्परागत कन्तरी पूजाको आठौ थान शिरथानमा आज पूजा अर्चना गरेका छन् ।
प्रत्येक ५ वर्षमा मनाईने पर्व आज कावासोती १४ डणावरस्थित शिरथान कुवाँरवर्ती माईको थानमा थारु समुदायले आफ्नै रितिरिवाज अनुसार मनाएका छन् ।
विहानदेखि थानमा पूजाआजा गर्न उपस्थित भएका उनीहरुले औपचारिक मञ्चीय समारोह समेत गरेका थिए ।
प्रमुख अतिथिका रुपमा पुगेका संघीय साँसद विष्णुकुमार कार्कीले थारु जातिको धार्मिक, साँस्कृतिक महत्व बोकेको कन्तरी पूजा र ति पूजा गरिने गुठी मातहत रहेका जमिनको संरक्षण, जगेर्ना र थप ब्यवस्थित गर्न आफु प्रतिवद्ध रहेको बताए ।
कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले धर्तीपुत्र थारु जातिले नवलपुरको यो क्षेत्रमा तेह्रौ शताब्दीदेखि बसोवास गर्दै आएका पुरातत्व र संस्कृतिसँग जोडिएका प्रमाणहरु काठमाण्डौको पुरातत्व विभागमा रहेकाले आफ्नो ईतिहासको पुनरावृत्तिका कालि पनि थारु जाति, संस्कृतिको उत्थानमा कृयाशील अगुवाहरुले चासो राख्नुपर्ने बताए ।
उनले नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहयोगका लागि योजना सहित प्रस्ताव गर्न आग्रह गर्दै नगरपालिकाका तर्फबाट गर्न सकिने समन्वय र उपल्ला सरकारसँग हुन सक्ने सहयोगमा सहजीकरण गर्ने वाचा गरे ।
शिरथान कुवारवर्ती माई देवी थानका अध्यक्ष विकाराम चौधरीले बाक्लो जंगल पातलो बस्तीका कारण परापूर्वकालमा बसोबास गर्दै आएका आफ्ना पुर्वजहरुले दैबी शक्तिका माध्यमबाट विभिन्न जंगली जीवजन्तु, रोग प्रकोप, प्राकृतिक विपत्तिबाट जोगिन र अन्नपातको बृद्धि, सन्तानको सुख–शान्ति हुन्छ भन्ने विश्वासमा विभिन्न देवीका साथै प्रकृतिको पूजा अर्चना गरेका कारण यो संस्कृति अहिलेसम्म पनि मान्दै आएको बताए ।
थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले प्रारम्भमा थारु संस्कृतिसँग जोडिएको कन्तरी पूजा संस्कृति पछिल्लने समय बस्ती बिकास र मिश्रित जातजातिको बसोबासका रुपमा स्थापित हुँदा साझा पर्वको रुपमा विकास भएको बताए । उनले यसलाई संस्कृतिसँगै पर्यटन प्रवद्र्धनसँग जोड्दै लैजानुपर्ने आवश्यकता औल्याए ।
नवलपुरका थारु जातिले महत्वका साथ मनाउने यो पर्व सुरुमा रजहरस्थित थानमा पूजा गरिसकेपछि लगत्तै देवचुली डाडामा रहेको गुफामा पूजा अर्चना सकिसकेपछि गैंडाकोटको भेडावारीदेखि कोलकाटासम्मका ११ वटा थानमध्ये १० थानमा पूजा गर्ने चलन छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली