नवलपुर, बैशाख ५ ।
किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताए ।
प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सोमबार अधिकारीले सो धारणा व्यक्त गरेका हुन ।
नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफुहरुले काम गर्दाका दौरानका अनुभव, चुनौती र सम्भावनाका विषय ध्यानाकर्षण गराए ।
किशोरीको टोलीले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिका लक्षित गर्नुपर्ने २५ बुँदे ध्यानाकर्षण पत्र पेश गरे ।
ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बालक्लव सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले बताईन् ।
बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताईन् ।
बालिकाहरुको भ्रुणमै असुरक्षित रहनु, हिंसा, दुव्र्यवहार र शोषणको शिकार हुनु गम्भीर चुनौतीको रुपमा उल्लेख छ । यी समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा लैजान जोड दिइएको छ ।
बालिकाको टोलीसँग मुख्यमन्त्री अधिकारीले सबैभन्दा पहिला आफुले आफैलाई विश्वास गर्न आग्रह गरे ।
उनले नीतिगत व्यवस्थाहरु सुरु गरिएको, पाठ्यक्रमबाट नै आत्मसुरक्षा र देशभक्तिलाई प्राथमिकतामा राखिएको र बन्धुत्वको भावना जागृत गराउने अभियानहरु समेत सुरु गर्न लागेको बताए ।
उनले देश निर्माणको लागि र सामाजिक न्यायको लागि अहिलेका किशोरकिशोरी स्वदेशमै बसेर सेवा गर्न आग्रह गरे ।
प्रस्तुत मागका सम्बन्धमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने प्रतिबद्धता गरे ।
साँसद पद्मा जिसीले किशोरीहरुका मागहरु र सवालहरु वर्तमान समयमा समय सापेक्ष रहेकोले प्रदेश संसद भित्र र बाहिर निरन्तर खबरदारी र वकालत गरेर समस्याहरुको समाधान गर्न आफु लाग्ने बताईन् । उनले नीतिगत व्यवस्था निर्माणमा लाग्ने प्रतिबद्धता पनि गरिन् ।
कार्यक्रमको सहजीकरण जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले गरेका थिए ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली