खगेन्द्र पराजुली,
नवलपुर, बैशाख ८ ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदायस्तरमा सञ्चालित सहकारी संस्थाहरुले त्यस क्षेत्रका नागरिकको आर्थिक शसक्तिकरणमा योगदान पुर्याउनुपर्ने बताएका छन् । देवचुली नगरपालिका वडा नं. १४ मा मुख्य कार्यालय रहेको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत वर्षका अवसरमा आयोजित समापन समारोहमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख न्यौपानेले पछिल्लो समय ठूला–ठूला वित्तीय संस्थाहरुले आर्थिक संकट र तरलताको स्थिति देखाउँदै पूँजी परिचालनमा देखाएको अनुदारता र उदासिनताका बावजुत पनि मध्यनेपालले आफ्ना शेयर धनीको आवश्यकता अनुसार सहज प्रक्रियाबाट प्रवाह गरेका कर्जा लगायत अन्य सेवा प्रशसनीय रहेको उल्लेख गरे । साकोसले पुर्याएको सामाजिक उत्तरदायित्व अन्तरगतका गतिविधि समेत उदाहरणीय रहेको बताउँदै न्यौपानेले सहकारीका माध्यमबाट नगरवासीको आर्थिक रुपान्तरणमा नगरपालिकाले गर्नुपर्ने सहयोग र समन्वयका लागि योजना माग गरे ।
गैंडाकोटदेखि कावासोतीसम्म १२ वटा सेवाकेन्द्र मार्फत वित्तीय कारोवार सञ्चालन गरेको सहकारीको १ अर्व ३३ करोड बराबरको पूँजी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत नरभुपाल भुसालले जानकारी गराए ।
सहकारीका अध्यक्ष मानसिं खत्रीले समुदायमा छरिएर रहेका एउटै उदेश्यका १० वटा संस्था एकिकरण गर्दै नवलपुर जिल्लामा मात्रै नभएर प्रदेश स्तरमा उत्कृष्ट र भरपर्दो वित्तीय कारोवार गर्न सफल संस्थाको परिचय स्थापित भएको दावी गरे ।
सहकारीले रजत वर्षका अवसरमा गत साउनयता सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिव–विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, देवचुलीका चार वटा आधारभूत तहका विद्यालयमा प्रति विद्यालय २५ हजारका दरले १ लाख रुपैंया बरावरको अक्षयकोष स्थापना, रक्तदान एवं निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण, वित्तीय साक्षरता शिक्षा कार्यक्रम लगायतका गतिविधि सम्पन्न भएका छन् । समापन समारोहमा संस्थाले ज्येष्ठ नागरिक, एकिकरण भएका सवै सहकारीका संस्थापक अध्यक्ष–पदाधिकारी तथा विभिन्न क्षेत्रबाट सहकारी विकासमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गरेको छ । सोही अवसरका आगोलागी सचेतना तथा ग्याँस सिलिण्डरबाट हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय कावासोती र शसस्त्र प्रहरी वल कोटीहोमको समन्वयमा प्रहरी कर्मचारीले रोकथाम–नियन्त्रण र सचेतनामुलक प्रस्तुति प्रदर्शन गरेका थिए ।
सहकारीका अध्यक्ष मानसिं खत्रीको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन सचिव कुश्माखर काफ्ले गरेका थिए । संस्थामा यो अवधिसम्म २४ हजार शेयर सदस्य आवद्ध छन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली