logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

जनमुखी काम नहुँदा जनता निराश भए– जिसस प्रमुख विश्वकर्मा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ बैशाख २०८०, सोमबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख १८ ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जनमुखी काम हुन नसक्दा जनता निराश भएका बताएका छन् । जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा आयोजित भूमि सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा समन्वय प्रमुख विश्वकर्माले जनताले चाहे अनुसारको काम नहुँदा पर्खेर बस्ने अवस्था नरहेको बताएका हुन् ।
जिल्ला समन्वय समिति, जिल्ला भूमि आयोग, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाका वडा अध्यक्ष लक्षित कार्यक्रममा उनले जनप्रतिनिधि र सरकारसँग जनताको अपेक्षा धेरै भएकाले जनताले विकल्प खोज्न थालेका धारणा ब्यक्त गरे । उनले भने– “अव गम्भीर भएर सोच्नुपर्छ । राजनैतिक दलले, जननिर्वाचित स्थानीय सरकारका नेताहरुले पनि जनताले विकल्पमा राम्रो खोज्या हो यो कतै विकल्प नपाएपछि नराम्रोतिर पनि झुम्मिन्छन् भन्ने संकेत र वार्निङ आएको छ बुझ्नुहोस् । यो चानचुने कुरा होईन ।”
परम्पराबादी, सामन्तबादी र यथास्थितिबादी सोचले समाज अग्रगमनतर्फ जान नसक्ने बताउँदै  उनले जनप्रतिनिधिहरुले आदेश, निर्देशन वा अह्राएको काम मात्रै गर्ने भन्ने मानसिकता त्यागेर समन्वयकारी भूमिकाका साथ जनताको सेवकका रुपमा निरन्तर लाग्न आग्रह गरे ।
उनले छुट भएकाको सूचना ननिस्केकाले सूचना निकाल्न, सहजीकरण नभएको अवस्थामा सहजीकरण बनाउन, सेवा केन्द्र सुचारु गर्न र पालिकाका मेयर उपमेयर लाई सहयोग गरेर वडाबाट रोकिएका भूमि सम्बन्धिका कामहरु अगाडी बढाउन आग्रह गरे ।
उनले सुकुम्वासी समस्या समाधानका लागि वडामा प्रतिस्पर्धात्मक रुपमा काम गर्न सुझाए । हिजोको आयोगले गरेका कामको जगमा टेकेर सो कामको अपनत्व लिदै अगाडी बढेको राष्ट्रिय भूमि आयोगको स्पष्ट धारणा रहेकाले यो वा त्यो बहानामा जनताका काममा ढिलासुस्ती गर्ने छुट नरहेको उनले स्पष्ट पारे । उनले जनताका कार्यको ढिलासुस्तीको खवरदारी चौतर्फी रुपमा बढेको परिप्रेक्ष्यमा आफुहरु पनि समन्वयकारी तहमा रहेकाले सेवा प्रवाहमा भएको सुस्ततालाई जनताका बीचमा जिल्ला समन्वय समितिले पनि लैजाने धारणा ब्यक्त गरे । उनले भने–“कुन वडा, कुन पालिकाबाट किन काम रोकियो सवै वडाबाट काम अगाडी वढिसकेपछि आयोगले किन रोक्यो त्यो प्रश्न बाचक चिन्ह सहित त्यसको उत्तर र जवाफदेहिता हामीले सडकमा लगिदिन्छौ ।”
उनले अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासीको काम कसरी हुन्छ भन्ने विषयमा टार्गेट गरेर काम गर्न सुझाउँदै यसबाट प्राप्त हुने प्रतिफल जस वा अपजस दुवै स्थानीय सरकारको प्रमुख भएका हिसावले वडाअध्यक्षकै रहने बताए ।
भूमि सम्वन्धि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले पालिकाबाट पहिचान, प्रविष्टीकरण र प्रमाणीकरण गरेपछि मात्रै आयोग समक्ष आउने भएकाले प्रारम्भिक कार्यहरुमा स्थानीय सरकारको दायित्वबोधका साथ चासो रहनुपर्ने बताए । उनले सम्झौताकै बखतमा पहिचानको कार्य भईसकेको, प्रविष्टीकरण धेरै पालिकामा भएको तर विनयी त्रिवेणी, बौदीकाली र बुलिङटारमा बाँकी रहेको खुलाए ।
परिस्थितिजन्य बिषयमा जनप्रतिनिधिहरु नयाँ आएकाले काम कसरी गर्ने भन्ने अन्यौलता, निर्वाचनमा आचार संहिताका कारण अभिमुखीकरण, गोष्ठी लगायतका अनुशिक्षण कार्यहरु गर्न नमिलेको स्थिति जस्ता कारणले सुस्तता भएको खरेलको भनाई थियो ।
कार्यक्रममा सहभागी वडाअध्यक्षहरुले भूमि सम्वन्धि वडामा भएका काम र प्रगति, कामका दौरानमा देखिएका समस्या र चुनौती, वडाले गर्नुपर्ने अस्पष्टता रहेका विषय, अपेक्षित लाभग्राही पक्षबाट आईरहेका गुनासा र दवाव लगायतका सरोकार सम्वन्धित सन्दर्भमा जिज्ञासा राखेका थिए । ति जिज्ञासामा आयोगका अध्यक्ष तारापति खरेल, सदस्यहरु सुष्मा खनाल र राम बहादुर ब्लोन तामाङ,  भागीरथ शर्मा लगायतले स्पष्ट पारेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram