खगेन्द्र पराजुली, नवलपुर, साउन १६ ।
हुप्सेकोट गाउँपालिकाले दूधभा दिँदै आएको अनुदान रकम दोब्बरले बढाएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षका लागि अनुदान रकम वृद्धि गरेको हो। गत वर्ष प्रतिलिटर पाँच रुपैया अनुदान उपलब्ध गराएकोमा यस वर्ष १० रुपैया पुच्याएको छ ।
सामान्य घरखर्च र प्रांगारिक मलखादका लागि पशुवस्तु पाल्दै आएका यहाँका किसानलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न पनि प्रोत्साहन स्वरूप अनुदानमा वृद्धि गरिएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डे बताउँछिन्। व्यवसायिक फर्म दर्ता गर्न नसकेका तर निरन्तर कृषिकर्ममा लागिरहेका साना किसानलाई उत्पादनको आधारमा प्रदान गरिने यो अनुदानले व्यवसायिकतातर्फ लाग्न र आम्दानीको मुख्य स्रोतका रूपमा दूध उत्पादन तथा पशु पालन विस्तार गर्दै गाउँले जीवनस्तरमा रूपान्तरण ल्याउने विश्वास सहितको अपेक्षा अध्यक्ष पाण्डेले ब्यक्त गरिन् ।
गत आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले दूध विक्रीको विवरणका आधारमा १ लाख ८६ हजार ६ सय १९ रुपैया अनुदान रकम वितरण गरेको छ यो ५७ हजार ३ सय २३ दशमलव ८ लिटर दूध विक्री वापतको अनुदान रकम भएको गाउँपालिकाको लेखा शाखाले जनाएको छ ।
लेखा अधिकृत राजेन्द्र रेग्मीका अनुसार यहाँ रहेका २ वटा सहकारी संस्थामा किसानले बिक्री गरेको दूधको परिमाणको विवरणका आधारमा सहकारी मार्फत गाउँपालिकाको अनुदान रकम किसानलाई भुक्तानी दिइएको हो ।
हुप्सेकोट गाउँपालिका भौगोलिक हिसावले २ भू-वनोटमा अवस्थित छ । यातायात र ढुवानी असुविधाका कारण पहाडी वडामा जोत्न र मलका लागि पशुपालन गर्ने गर्दछन् । यहाँ दूध विक्री गर्ने स्थिति छैन। यहाँको वडा नं. १ र ३ को पुरै, २ र ४ को आंशिक क्षेत्र गिरुवारी, झ्यालवास, जुगेपानी र शंखदेव क्षेत्रमा बसोवास गर्ने मानिसले घरखर्च चलाउने गरी गाई-भैंसी पाल्ने र दूध विक्री समेत गर्ने गर्दछन् ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली