सर्वोदयले गर्यो सकलामा वक्तृत्व प्रतियोगिता
खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ । सर्वोदय (अक्षर र अनुसन्धान) नामक संस्थाको आयोजना र कामना विकास बैंकको सहयोगमा देवचुलीमा वक्तृत्वकला प्रतियोगिता भएको छ बुधवार देवचुली - ५, स्थित सकलादेवी माध्यमिक विद्यालयमा समावेशी बैंकिङ् शिक्षा आजको आवश्यकता विषयक प्रतिस्पर्धामा १२ जना विद्यार्थीले भाग लिएका थिए।
आधारभूत र माध्यमिक तहका छुट्टाछुट्टै तहगत प्रतिस्पर्धामा उत्कृष्ट पाँचजना वक्तालाई नगद पुरस्कार सहित प्रमाणपत्र र सहभागी सबैलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षता तथा देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा माध्यमिक तर्फवाट भाग लिएका ५ जनामध्ये नेपाल माविका सौर्य पौडेल प्रथम भए भने सकलादेवी माविकी पूजा कंडेल दोस्रो भइन् । यस्तै, आधारभूततर्फ सहभागी ७ जनामध्ये सकलादेवी माविकी छात्रा आकृति चापागाई प्रथम, नेपाल माविकी छात्रा सुवासना ढकाल द्वितीय र दिव्य एकेडेमीकी छात्रा सदिक्षा सिग्देलले तेस्रो अर्थात् सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा आधारभूततर्फ एकमात्र फरक क्षमता समएका दृष्टिबिहिन वालक संसार वाग्लेले समेत भाग लिएका थिए ।
प्रतिस्पर्धी सहभागीको मुल्यांकन गर्न निर्णायकको भूमिकामा सर्वोदयका कोषाध्यक्ष सौगात वाग्ले, कामना विकास बैंक दलदले शाखा प्रमुख चुडामणी ज्ञवाली र पूर्व शिक्षक / शैक्षिक व्यक्ति बामदेव शर्मा लम्साल रहेका थिए ।
प्रतिस्पर्धी सहभागीले प्रस्तुत गरेका विचार सुनिसकेपछि शुभकामना मन्तब्य ब्यक्त गरेका अतिथि पाहुनाले बालवालिकाको बौद्धिक क्षमता विकासका साथै यस्ता कार्यक्रमले सामाजिक रूपमै जनचेतना जगाउन र श्रोता विद्यार्थीमा आफ्नै साथी-सहपाठीका प्रस्तुतिबाट हौसला प्राप्त हुने आशय सहितका भनाई राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले बैंकिङ शिक्षा अहिलेको पुस्ताले वुझ्नैपर्ने विषय भएकोले यसलाई अवसरको रूपमा लिनुपर्ने बताए । उनले दुरदराजमा समेत बैंकिङ सेवा र शिक्षा पुर्याउन आवश्यक रहेको वताए ।
संस्थाका अध्यक्ष युवराज वाग्लेले संस्था स्थापनाको लक्ष्य र संस्थाले समाजमा गर्न खोजेको सामाजिक भूमिकाका वारेमा वोलेका थिए ।
सर्वोदयका सचिव ठाकुर प्रसाद शर्माको सञ्चालन, सह-कोषाध्यक्ष टिकाराम देवकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा सकलादेवी माविका प्रधानाध्यापक लक्ष्मी शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेल, वडा नं. १ का अध्यक्ष कृष्णबहादुर केसी लगायतले वोलेका थिए।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली